कमल थापाले भने– राष्ट्रपतिको यो निर्णय इतिहासले प्रशंसा गर्ने छ

काठमाडौँ, ५ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रहितमा काम गरेको बताएका छन् ।

सत्ता गठबन्धनका नेताले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधान र व्यवस्थामै प्रहार गरेको भनेर टिप्पणी गरिरहेका बेला अध्यक्ष थापाले भने राष्ट्रपतिको कदमको प्रशंसा गरेका हुन् ।

“प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ,” थापाले सामाजिक सञ्जालमा भनेका छन्, “राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ । संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ ।”

राष्ट्रपतिको यो निर्णयले राजनीतिक स्वार्थ परिपूर्तिका लागि संविधान/राष्ट्रहितलाई तिलाञ्जली दिने प्रयास असफल भएको थापाले दाबी गरेका छन् ।

“राजनीतिक रूपमा विवादमा पर्ला, तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय इतिहासले प्रशंसा गर्ने छ,” उनले भनेका छन्, “राजा वीरेन्द्रले समेत राष्ट्रहितविपरीतको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको विदितै छ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति