चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने नेपाल बारको निर्णय

काठमाडौं । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘यसअघि झैं हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्छौं, जबरा भित्र पस्ने कुरा कल्पना पनि गर्न सकिंदैन ।’

निलम्बित प्रधानन्यायाधीश जबराले शनिबार अपराह्न कायम मुकायम मुख्य रजिष्ट्रार नारायण पन्थीलाई फोन गरेर आफू सर्वोच्च अदालत फर्किने बताएका थिए । प्रतिनिधि सभाको कार्यकाल सकिएकाले आफूविरुद्धको महाअभियोग प्रस्ताव पनि निस्तेज भएको तर्क गर्दै जबरा सर्वोच्च फर्किन लागेको स्रोतको भनाइ छ । पन्थीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘म आइतबार सर्वोच्च आउँदैछु, तयारी गर्नू भनेर जबराले निर्देशन दिनुभयो ।’ लगत्तै पन्थीले सर्वोच्च अदालतको नेतृत्व लगायतलाई यसको जानकारी गराएका थिए ।

यो खबर सार्वजनिक भएपछि नेपाल बारले आज आकस्मिक बैठक डाकेको थियो । आकस्मिक बैठकले जबरा सर्वोच्च अदालत आउने प्रयास गरेमा गेटमै शान्तिपूर्ण प्रदर्शन गर्ने र उनलाई भित्र छिर्न नदिने घोषणा गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति