चोलेन्द्रले बयानमा हस्ताक्षर गर्न मानेन, १७४ पेजको बयान अक्षरश पढाएर हस्ताक्षर गराउन ४५ मिनेट बैठक स्थगित

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाअभियोग सिफारिस समितिले लिएको बयानमा हस्ताक्षर गर्न मानेनन् ।

समितिले तयार पारेको १७४ पेजको बयान लामो भएको भन्दै जबराले हस्ताक्षर गर्न नमानेका हुन् । बयानको अन्तिम पेजमा मात्र हस्ताक्षर गर्न तयार भएका जबराले लामो रहेछ भन्दै पन्छिन खोजेपछि अहिले सबै बयान पढेर सुनाउने काम भइरहेको छ । त्यसका लागि ४५ मिनेट बैठक स्थगित गरिएको छ ।

समितिका एक सदस्य मीन विश्वकर्माका अनुसार सुरुमा जबराले सबै पढेर नसकिने भन्दै अन्तिमको एक पेजमा हस्ताक्षर गरिदिने बताएका थिए । तर हस्ताक्षर गर्न दिने बेला उनले नमानेपछि अहिले अध्योपान्त पढेर सुनाउने काम भइरहेको विश्वकर्माले जानकारी दिए ।

विश्वकर्माले भने, ‘मैले बोलेका सबै कुराहरु बयान हुन् र अन्तिममा एक पेजमा हस्ताक्षर गर्दिन्छु, यो ठूलो रैछ, झण्डै दुई सय पेजको कपी मैले घरमा पढ्न पनि सक्दिनँ भन्नुभयो । बैठकमा ठ्याक्कै सही गर्नलाई कागज दिने बेलामा म यसमा साइन गर्दिनँ भन्नुभयो ।’

कसैले उक्साएकाले जबराले हस्ताक्षर गर्न नमानेको हुन सक्ने अनुमान विश्वकर्माले गरे । ‘यसो बुझ्दा प्रभोक गरेको जस्तो लाग्यो । केही माननीय सदस्यहरुले उहाँलाई सोधौं न उहाँले नगर्न पनि त सक्नुहुन्छ भनेपछि उहाँले गर्दिनँ भन्नुभयो,’ विश्वकर्माले भने ।

‘अक्षरश पढेर हस्ताक्षर गर्ने भनेपछि अहिले अधोपान्त पढाएर साइन गराउने तयारी भइरहेको छ । बयान १७४ पेजको छ,’ उनले भने । पढ्दै जाँदा भने जबराले ठिक छ भनेको उनले बताए ।

पाँच दिनसम्म लिएको ४३ प्रश्नको जफाव समितिले १७४ पेजमा तयार पारेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति