देशकै ठुलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब

काठमाडौँ, ३१ भदौ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाले ५३ अर्ब ३४ करोड बराबर लगानी गर्ने भएका छन् ।

सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा राखेको सो परियोजनाको कुल लागत दुई खर्ब १४ अर्ब ८६ करोड बराबर रहेको छ । आन्तरिक ऋण लगानीसम्बन्धी सम्झौतामा आज साँझ हस्ताक्षर भएको छ ।

लगानीसम्बन्धी सम्झौतामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सहवित्तीयकरणका अगुवाइ गर्ने एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम तथा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लगानी कोषका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् ।

ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र मन्त्रालयका उच्च अधिकारीको उपस्थितिमा भएको उक्त समझदारीअनुसार ऋण लगानीसम्बन्धी आवश्यक निर्णय हुने छ ।

कुल एक हजार ६१ मेगावाट क्षमताको सो आयोजनामा कुल लागतको ७० प्रतिशत ऋण लगानी हुनेछ भने ३० प्रतिशत स्वपुँजी रहने छ । आयोजनामा कुल ऋण एक खर्ब ५० अर्ब ४० करोड बराबर रहने छ । त्यसमा वैदेशिक ऋण ९७ अर्ब छ करोड बराबर रहने छ । विश्व बैंक, युरोपियन इन्भेस्टमेन्ट बैंकलगायतका वैदेशिक ऋण लिने तयारी गरिएको छ ।

संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकामा रहेको अर्धजलाशय प्रकृतिको यो आयोजनाको हालसम्मको अध्ययनअनुसार अरुण नदीमा एक सय ८३ मिटर लामो र एक सय मिटर उचाइको बाँध बाँधिने छ । कुल आठ दशमलव पाँच किलोमिटर लामो सुरुङमार्फत् ल्याएर स्थानीय छोग्राकस्थित भूमिगत विद्युत्‌गृहमा खसालिने छ ।

आयोजनाबाट वार्षिक चार हजार ५१२ गिगावाट घण्टा अर्थात् चार अर्ब ५१ करोड युनिट विद्युत् उत्पादन हुने छ । त्यसमध्ये ३० प्रतिशत ऊर्जा सुक्खायाममा उत्पादन हुने छ । उत्पादित बिजुली विद्युत्‌गृहबाट करिब छ किलोमिटर लामो चार सय केभी क्षमताको डबल सर्किट प्रसारण लाइनमार्फत संखुवासभाको हाइटारमा निर्माण हुने सबस्टेसनमा जोडिने छ ।

सन् २०२४ को अन्त्यतिर निर्माण सुरु गरेर सन् २०३० मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल आयोजनाको सम्भाव्यता अध्ययन पूरा भई बोलपत्रको डिजाइन र निर्माण सुपरीवेक्षण कार्यका लागि परामर्शदाता छनोटको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

आयोजनाका लागि दुई सय २५ हेक्टर जग्गाको मुआब्जा निर्धारण भई वितरणका क्रममा रहेको छ । आयोजनाबाट असाध्यै न्यून अर्थात् २२ घरधुरी मात्रै भौतिकरूपमा विस्थापित हुनेछन् । आयोजनाबाट वातावरणीय र सामाजिक प्रभाव तुलनात्मकरूपमा न्यून रहेको छ ।

आयोजनाको पहुँचमार्ग निर्माणको काम सन् २०२३ देखि सुरु गर्ने लक्ष्य राखिएको छ । पहुँचमार्गमा सुरुङमार्गसमेत निर्माण गर्नुपर्ने छ । त्यसका लागि मात्रै रु नौ अर्ब बराबरको लगानी लाग्ने छ ।

अध्ययनअनुसार अप्ठ्यारो पहाड र भिर काटेर सडक निर्माण गर्नुपर्ने भएकाले कम्तीमा पनि दुई वर्ष लाग्ने छ । आयोजनालाई सरकारले जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ । आयोजनाको वित्तीय व्यवस्थापनका लागि अर्थमन्त्रालयले विश्व बैंकसँग संवाद गरिरहेको छ । आयोजनाको अध्ययनका लागि पनि विश्व बैंकले नै सहयोग गरेको छ ।

सो अवसरमा ऊर्जामन्त्री भुसालले नेपाल र नेपालीको सपना साकार हुने चरणमा प्रवेश गरेको बताइन् । निर्माणमा जान लागेकामध्ये नेपालकै ठुलो आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समावेश गरिएको उनले जानकारी दिइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board