भक्तपुरको शान्तिसुरक्षा थप मजबुत हुन्छ: एसपी केसी

भक्तपुर, ३० भदौ । हालै भक्तपुर सरुवा भई आएका महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले भक्तपुरको शान्ति सुरक्षालाई अझ बढी व्यवस्थित रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भक्तपुर उद्योग वाणिज्य संघले बिहीबार आफ्नो स्वागतमा गरेको कार्यक्रममा उनले त्यसका लागि सबै संघसंस्था र व्यक्तिसँग मिलेर अगाडि बढ्ने बताए ।

भक्तपुर उद्योग वाणिज्य संघसँग पूर्व एसपीहरूले पनि राम्रो सम्बन्ध कायम गरी अगाडि बढिरहेको आफूले पाएको बताउँदै उनले आफ्नो कार्यकालमा पनि राम्रो सम्बन्धका साथ अगाडि बढाउने विश्वास दिलाए । यसका लागि संघले प्रहरी प्रशासनलाई चाहिने आवश्यक सहयोग सरसल्लाह सुझाव दिन अनुरोध गरे ।

आफू भक्तपुर जिल्लाको नभए पनि भक्तपुरमा आएपछि भक्तपुर जिल्लाको सुरक्षा प्रदान गर्ने पहिलो दायित्व भएको चर्चा गर्दै उनले शान्ति सुरक्षा दिन स्थानीय संघसंस्था व्यक्ति र व्यक्तित्वहरूसँग मिलेर अगाडि बढ्ने बताए । ‘अझ बढी भक्तपुर जिल्लालाई के कसरी शान्ति सुरक्षादेखि लिएर राम्रो बनाउन सकिन्छ मेरो ध्यान त्यही नै हो,’ उनले भने ।

कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले संघले स्थापनाकालदेखि नै प्रहरी प्रशासनसँग सुमधुर सम्बन्ध स्थापना गरी अगाडि बढिरहेको इतिहास रहेको बताए । ‘स्थापनाकालदेखि जिल्ला र प्रहरी प्रशासनबीच सम्बन्ध सुमधुर थियो। त्यो सम्बद्ध आगामी दिन पनि निरन्तर हुन्छ,’ उनले भने, ‘प्रहरी प्रशासनसँग मात्रै होइन, स्थानीय, केन्द्र, प्रदेश सरकारसँग पनि हामी सुमधुर सम्बन्ध अगाडि बढाई जानेछौँ ।’

संघ जिल्लामा मात्रै नभई नेपालमा रहेका दुई सय ५० बढी जिल्ला तथा नगर उद्योग वाणिज्य संघसँग राम्रो सम्बन्धका साथसाथै अष्टेलियादेखि एसियासम्म २४ राष्ट्र संलग्न भएको एसिया उद्योग वाणिज्य संघको पनि संघ सदस्य रहेको बताउँदै सवैसँग राम्रो सम्बन्ध बनाई अगाडि बढ्नु संघको विशेषता रहेको बताए ।

भक्तपुरमा सिसी क्यामरा जडान गर्न पनि परिसरको विशेष तत्त्वावधानमा सफलता मिलेको उनले स्मरण गरे । भूकम्प र कोरोनामा पनि प्रहरीसँग मिलेर काम गरिरहेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति