पाङ्ग्रा फेर्न नसक्दा निगमको दिल्ली उडान रोकियो

काठमाडौँ २९ भदौ । नेपाल वायुसेवा निगम व्यवस्थापनले बेलैमा वाइडबडी जहाजका लागि एउटा पाङ्ग्रा फेर्न नसक्दा दिल्लीका लागि बिहान १० बजेदेखि विमानस्थल पुगेका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् ।

निगमका एक इन्जिनियरका अनुसार पाङ्ग्रा सप्लायर कम्पनीलाई समयमै रकम भुक्तानी नगर्दा निगमको उडान प्रभावित भएको यो दोस्रो घटना हो । यसअघि साउन पहिलो साता पनि निगम व्यवस्थापनले बेलैमा पाङ्ग्रा खरिद नगर्दा दिल्लीकालागि बेलैमा जानुपर्ने २ सय ५० जना यात्रु काठमाडौंमा अलपत्र परेका थिए भने उताबाट फर्किने यात्रु पनि दिल्लीमा घन्टौं कुर्न बाध्य भएका थिए ।

वाइडबडीको पछाडिका ८ वटामध्ये फेर्नुपर्ने एउटा पाङ्ग्रा बेलैमा उपलब्ध नहुँदा दिल्लीका लागि साढे १ बजे उड्नुपर्ने निगमको वाइडबडी अहिलेसम्म मर्मत नहुँदा यात्रुहरू विमानस्थलमा अलपत्र परेका हुन् ।

निगमका एक निर्देशकले आरए २१७ उडान साँझ ५ बजेसम्म हुने र आजै साँझ दिल्लीबाट फर्किने बताए । निगमको तालिकाअनुसार आरए २१७ नम्बरको उडान हरेक दिन काठमाडौंबाट १स्२५ मा दिल्ली जाने र उताबाट भारतीय समय अनुसार ४स्२० मा काठमाडौं फर्किने तालिका छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दिल्ली जाने निगमका सबै यात्रुलाई बोर्डिङ पास लिइसकेको र जहाजको पर्खाइमा रहेको बताए । ‘आठ घण्टाभन्दा बढी समय लाग्ने भए निगमले यात्रुलाई होटलमा पठाउनुपर्ने हुन्छ, हामीलाई ५ बजेतिर जहाज उडाउने जानकारी दिइएको छ । विमानस्थल कार्यालयले यसमा सहजीकरण गर्दै छ,’ प्रवक्ता सिटौलाले भने ।

‘काठमाडौंबाट २ सय १५ जना यात्रु दिल्ली जानुपर्ने, जहाजको पाङ्ग्रा फेर्नुपर्ने खबर आएकाले यात्रुहरुको सुरक्षा जाँच गरेर विमानस्थलमा रहेका सोल्टी र र्‍याडिसन होटलले सञ्चालन गरेका लाउन्जमा खाना–खाजाको व्यवस्था गरिएको छ, विमानस्थलस्थित निगमका नाम नबताउने शर्तमा एक कर्मचारीले भने,‘हामीलाई ५ देखि साढे ५ सम्म जहाज उडाउने खबर आएकाले यात्रुलाई त्यही भनिरहेका छौं । अर्जेन्ट भएका र अर्को जहाजबाट युरोप अमेरिका जानेलाई भारतीय एयरलायन्समा टिकट काटेर पठाइरहेका छौं । अझै दुई जनाको व्यवस्था गर्दै छौं ।’

उता दिल्लीबाट फर्किने यात्रु २ सय ७४ जना रहेको निगमले जनाएको छ । दिल्ली विमानस्थलमा पुगिसकेका यात्रुलाई बुधबार साँझै उडाइने भनिएको छ । निगमसँग २ सय ७४ सिट क्षमताका दुइटा वाइडबडी र १ सय ५८ सिट क्षमताका दुइटा न्यारोबडी विमान छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति