बैतडीमा डेंगु र स्क्रब टाइफस जोखिम

बैतडी, २९ भदौ । बैतडीमा पछिल्लो समय डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए ।

जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा डेंगु र स्क्रब टाइफस संक्रमित फेला पर्न थालेका स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा डेंगु र स्क्रब टाइफस देखापर्ने गरेको हो । परीक्षण नगराएका व्यक्तिमा समेत डेंगु र स्क्रब टाइफसको संक्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

जिल्ला अस्पतालमा हाल दैनिकरूपमा डेंगु र स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । डेंगु र स्क्रब टाइफस लक्षण देखिए समयमा नै अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै संक्रमण बारेमा जानकारी हुने उनको भनाइ छ ।

अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा डेंगु र स्क्रब टाइफस छ कि छैन भनेर परीक्षण गरिरहेको अस्पतालका प्रमुख डा.दीपेश श्रेष्ठले बताए । उनले भने, ‘केही संक्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ, दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरुरी छ ।’

पछिल्लो समय दिनप्रतिदिन यहाँ डेंगु र स्क्रब टाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ । अहिले गाउँगाउँमा ज्वरोका बिरामी रहेकाले तीमध्ये कसैलाई डेंगु र स्क्रब टाइफससमेत हुनक्ने भएकाले परीक्षण गर्न भनिएको छ ।

वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका हुन् । पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको र स्क्रब टाइफसले ज्यानै लिन सक्छ ।

‘माइट’ नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । साथै एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ । मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ ।

यसैबीच स्वास्थ्य कार्यालयले डेंगु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि सचेतनामूलक र सरसफाइ अभियान सञ्चालन गरेको छ । डेंगु संक्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले सदरमुकाम क्षेत्रका पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board