बच्चा चोरी गर्ने व्यक्ति भित्रिएका छैनन्, भ्रम फैलाए कारबाही हुन्छ : साइबर व्यूरो

२८ भदौ, काठमाडौं । साइबर व्यूरोले सूचना जारी गर्दै बच्चा चोरी गर्ने गिरोह नेपालमा प्रवेश गरेको कुनै सूचना नभएको बताएको छ । सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको बताएको हो ।

व्यूरोले सूचनामा उल्लेख गर्दै सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैं देशभर रहेका कुनै पनि प्रहरी कार्यालयमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरी र सूचना प्राप्त नभएको बताएको छ ।

पछिल्ला दिनमा भारतबाट सामाजिक सञ्जालमा जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्ति नेपाल प्रवेश गरेको अफवाह फैलिएपछि साइबर व्यूरोले सूचना जारी गरी कारबाहीको चेतावनी समेत दिएको छ ।

‘सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जोकोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यहोरासमेत जानकारी गराउँदछौं’, सूचनामा उल्लेख छ । प्रहरीले सामाजिक सञ्जालमा भ्रम फैलाइए जस्तो नेपालका कुनै पनि प्रहरी युनिटमा त्यस्तो सूचना प्राप्त नभएको उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै व्यूरोले विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न सूचित गरेको छ ।

सामाजिक सञ्जालमा बच्चा चोरी हुने सूचना भाइरल भएपछि नागरिक आतंकित भएका छन् । विद्यालय र सरोकारवालाले समेत सतर्क रहन सूचना जारी गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board