काठमाडौँ, २३ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चाहना पार्टीमा राम्रा उत्तराधिकारी तयार हुन् भन्ने नै रहेको बताएका छन् ।
काठमाडौँमा पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रममा प्रचण्डले आफ्नै तयारीमा र नेतृत्वमा जनयुद्ध भएको र शान्ति प्रक्रिया र संविधानसभाको पनि नेतृत्वका साथै संघीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेकाले अबको चाहना पार्टीमा राम्रा उत्तरधिकारी तयार हुन् भन्ने नै रहेको बताए ।
उनले माओवादीको विरासत र परम्परालाई अगाडि बढाउन ठुलो छातीका साथ अगाडि बढ्नुपर्ने धारण राखे । कार्यक्रममा नेता जनार्दन शर्माले पार्टीको नीति र नेतृत्वको आलोचना गरेपछि प्रचण्डले पार्टीको नीति र नेतृत्वको रक्षाको कुरा गर्ने शर्मालाई रक्षा र हुर्काउन पनि आफ्नो मुख्य भूमिका रहेको बताए ।
“जनार्दनले जाँदा जाँदै नीति र नेतृत्व रक्षाको कुरा भन्नुभयो, म तपाईंहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो । उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि मेरो भूमिका छ । म त जनयुद्धदेखि अहिलेसम्म नेतृत्वमा छु । मेरो लागि धेरै चिज भएकै छ । अब म लाखौँ उत्तराधिकारी तयार पार्न चाहन्छु,” उनले भने ।
त्यस्तै, प्रचण्डले सडक र सरकारबाटै आन्दोलनको उपलब्धिलाई रक्षा गर्नुपर्ने भएकाले युवाहरू सडकमा आउनुपर्ने बताए । उनले निर्वाचन प्रणालीमा सुधार र शासकीय प्रणालीमा सुधार गर्नुपर्ने आफूहरूको नैतिक दायित्व भएको जिकिर गरे ।
सोही कार्यक्रममा प्रचण्डभन्दा अगाडि बोल्दै अर्थमन्त्रीसमेत रहेको शर्माले आफूले उपमहासचिव पद अस्वीकार गरेको बताउँदै प्रचण्डको आलोचना गरेका थिए । उनले अप्ठ्यारो परेको बेलामा सधैँ नेतृत्वको पक्षमा उभिएको बताएका थिए ।
“म नीति र नेतृत्व सही ढंगले चल्नुपर्छ भन्ने मान्छे हुँ । अध्यक्ष कमरेडको कडा आलोचक मै हु र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाहकी हुँदैन,” शर्माले प्रचण्डकै अगाडि भने ।
पार्टीको नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न नसक्ने भएकाले आफूले नेतृत्वको आलोचना गरेको उनले स्पष्ट परेका थिए ।
प्रतिक्रिया