अफगानिस्तानलाई हराउँदै पाकिस्तान फाइनलमा, भारत बाहिरियो

काठमाडौँ, २३ भदौ । नसिम साहले लगातार दुई छक्का प्रहार गरेपछि अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै पाकिस्तान एसिया कप–२०२२ को फाइनलमा प्रवेश गरेको छ ।

एक सय ३० रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो । नवौं विकेटको रुपमा आसिफ अलि आउट भएपछि दबाबमा आएको पाकिस्तानका नसिम साहले २०औँ ओभरको पहिलो र दोस्रो बलमा लगातार छक्का प्रहार गर्दै पाकिस्तानको जित पक्का गराए ।

जितसँगै पाकिस्तानले उपाधिका लागि श्रीलंकासँगको भेट पक्का गरेको छ । यता, भारत र अफगानिस्तान भने एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएका छन् ।

बुधबार राति पाकिस्तानले दिएको एक सय ३० रनको लक्ष्य पाकिस्तानले १९.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । पाकिस्तानका कप्तान बाबर आजम भने आज पनि ब्याटिङमा जम्न सकेनन् । सदाब खानले सर्वाधिक ३६ रन जोडे । यसबाहेक, इफ्तिखर अहमदले ३०, मोहम्मद रिजवानले २० र आसिफ १६ रन बनाए ।अफगानिस्तानका फजाल्हक फरुकी र फरिद अहमेदले समान तीन विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङमा आएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रनको योगफल तयार पार्‍यो ।

अफगानिस्तानका इब्राहिम जद्रानले सर्वाधिक ३५ रन बनाए । यस्तै, हर्जतुल्लाह जजाईले २१, राशिद खानले १८, रहमनुल्लाह गुर्बाजले १७ र करिम जनतले १५ रन बनाए । पाकिस्तानका हरिस रौफले दुई विकेट लिए ।

प्रतियोगितामा श्रीलंकाले यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो । श्रीलंकाले सुपर फोरको लगातार दुई खेलमा जित निकाल्दै फाइनलको टिकट काट्यो ।

अब, बिहीबार भारतले अफगानिस्तानको सामना गर्दा शुक्रबार श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board