सिट बाँडफाँड कार्यदलले आज प्रतिवेदन बुझाउने

काठमाडौँ, २३ भदौ । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश बिहीबार टुंग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको थियो ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँडका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन बिहीबार बिहान बैठक बसी शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । सिट बाँडफाँडका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उनले बताए ।

दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँडको खाका बनाइएको छ । कार्यदलको बैठक बिहीबार बिहान ९ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुंग्याउने सहमति भएको सचिव पुरीले जानकारी दिए ।

गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।

यसैगरी, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति