अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति 

काठमाडौं, २२ भदौ । हास्यकालकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पुर्‍याउने गरी प्रस्तुती दिएको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो । 

१२ भदौमा पक्राउमा परेका उनलाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको हो । तर, उनीमाथि गरिएको अनुसन्धानको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी प्रहरीले गरिसकेको छ । 

नेवा समुदायको आस्थामाथि चोट पु¥याउने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी परेको छ । सोहीआधारमा उनलाई पक्राउ गरेको हो ।

यसैबीच, एमालेले उनलाई यथाशीघ्र रिहा गर्न माग गरेको छ ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले कला प्रस्तुत गर्ने क्रममा १० दिनदेखि प्रहरी हिरासतमा रहेका कलाकार सिंहलाई रिहा गर्न माग गरेका हुन् । 

व्यंग्यात्मक कमेडीले कसै न कसैलाई असर गर्ने भए पनि कलाकारलाई पक्राउ गर्न नहुने भन्दै उनले सिंहलाई तत्काल रिहा गर्न माग गरेका हुन् । 

‘अपूर्व क्षितिजले कला प्रस्तुत गर्ने क्रममा, अलिकति हाँस्य प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का पर्‍यो होला । कसै न कसैलाई मर्का पार्ने नै प्रस्तुती हुन्छ हास्यकलाकारमा,’ उनले भने, ‘हामीले देखेका छौं, शीर्षनेताहरु प्रज्ञा भवन र सभागृहमा बसेर हाँस्य कलाकारहरुको आफूमाथिको कडा व्यंग्यहरु स्वीकार गरेका छन् । अनि यसबापत नै अपूर्व क्षितिज सिंहजस्तो कलाकारलाई १०औँ दिनदेखि थुनामा राख्ने काम सरकारले गरिरहेको छ । म उहाँलाई शीघ्र रिहाइको माग गर्छु । आफ्नो प्रस्तुती हटाइसकेको र माफीसमेत मागेका छन् । यसअवस्थामा उहाँमाथि कुनै पनि अत्याचार नहोस् ।’ 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board