निर्वाचन नजिकिँदै गर्दा दर्जन जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा सरकारले काठमाडौं र ललितपुरसहित एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।

गृह मन्त्रालयले उपत्यकालगायत महत्त्वपूर्ण जिल्लाका सीडीओहरूको सरुवा गरेको हो । मन्त्रालय स्रोतका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा घनश्याम उपाध्याय आएका छन् । उनी ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । काठमाडौंका प्रजिअ गोविन्द रिजाल भने मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा तानिएका छन् ।

त्यस्तै, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ललितपुर तानिएको छ भने मन्त्रालयको प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई कास्कीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

जुम्लाकी प्रजिअ विजयाकुमारी प्रसाईँ मन्त्रालय तानिएकी छन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरी सरुवा भएका छन् ।

दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी बनाइएको छ । सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए ।

यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ भने पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरको प्रजिअमा गणेश गैरेलाई पठाइएको छ ।

सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board