सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोप : पीडितको स्वास्थ्य परीक्षणसँगै प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरीसमक्ष किटानी दर्ता भएको छ ।

प्रहरी वृत्त गौशालामा बुधबार लामिछानेविरुद्ध किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए ।

आफ्ना एक साथीसँग गौशाला पुगेकी पीडितले आफूलाई कप्तान लामिछानेले दुईपटक बलात्कार गरेको गौशालाका प्रहरीसमक्ष बताएकी थिइन् । प्रहरीका अनुसार उनको उमेर १७ वर्षको छ । त्यसपछि गौशाला प्रहरीले काठमाडौं प्रहरी प्रमुख बोहोरालाई त्यसबारे जानकारी गराएको थियो । बोहोरा हुँदै यो सूचना प्रहरी नेतृत्वसम्म पुगेको थियो । ‘बलात्कार जस्तो घटनामा प्रहरी संवेदनशील छ, हिजै स्वास्थ्य परीक्षण गराएर प्रारम्भिक अनुसन्धान थालिसक्यौं,’ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रवीन्द्रबहादुर धानुक भने ।

गौशाला प्रहरीका एक अधिकृतका अनुसार काठमाडौंको एक कलेजमा अध्ययनरत पीडित युवती लामिछानेकी ‘फ्यान’ थिइन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सामाजिक सञ्जालमार्फत नै लामिछानेले भेट्ने प्रस्ताव राखेको प्रहरीले जनाएको छ । ‘पीडित उनको फ्यान भएकाले म्यानिपुलेट गरेको जस्तो देखिन्छ’ गौशाला प्रहरीका ती अधिकृत भन्छन्, ‘प्रायजसो स्न्यापच्याटमै कुरा हुने रहेछ ।’ स्न्यापच्याटमा संवाद पठाएको हेर्ने वित्तिकै आफैं डिलिट हुन्छ ।

लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो दिन उनले पीडितलाई पिंगलास्थानस्थित होटल काठमाडौं इनमा बोलाएर दुईपटक बलात्कार गरेको पीडितको भनाइ छ ।‘केन्या जानु अघिल्लो दिन सन्दीप आफ्नो कारमा मध्य बानेश्वरस्थित होस्टल नजिकै लिन आएको थियो’ उनले प्रहरीसमक्ष भनेकी छन्, ‘त्यतिबेला भक्तपुर गएका थियौं, फर्किएर आउँदा मध्यराति भइसकेको थियो ।’उनले सन्दीपलाई राति ८ बजेपछि होस्टल बन्द भइसक्ने बताएकी थिइन् । तर सन्दीपले ‘एकछिन–एकछिन’ भन्दै ढिला गरेको पीडितको भनाइ छ ।झण्डै ११ बजिसकेपछि सन्दीपले होटलमा बस्ने प्रस्ताव गरेको उनको बयान छ । त्यसपछि सन्दीपले उनलाई पिंगलास्थानस्थित होटलमा लगेका थिए ।

पीडितले दुईवटा कोठा लिन भने पनि सन्दीपले नमानेको प्रहरीको भनाइ छ ।राति लठ्याएर दुई पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । प्रहरीले पिंगलास्थान र नगरकोटमा गएको होटलको क्लोज सर्किट (सीसी) टीभी फुटेज पनि संकलन गर्न थालेको छ । होटलका कर्मचारीहरुसँग पनि सोधपुछ गरिरहेको छ ।प्रारम्भिक जाँचमा उनी ५ भदौमा ती स्थानमा पीडितसँग गएको देखिएको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board