भारतमाथि श्रीलंकाको रोमाञ्चक जित

काठमाडौँ, २२ भदौ । युनाइटेड अरब इमिरेट्स (युएइ)मा जारी एसिया कपअन्तर्गत सुपर फोरको खेलमा श्रीलंकाले डिफेन्डिङ च्याम्पियन भारतमाथि रोमाञ्चक जित हात पारेको छ ।

मंगलबार सम्पन्न खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै श्रीलंका फाइनल नजिक पुगेको हो ।

भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले एक बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै श्रीलंकाले जित सुनिश्चित गर्‍यो ।

श्रीलंकाका ओपनरद्वय कुशल मेन्डिसले ३७ बलमा ३ छक्का र ४ चौकाको मद्धतमा ५७ तथा पथुम निशान्काले ३७ बलमा २ छक्का र ४ चौकाको सहयोगमा ५२ रनको योगदान गरे ।

एक समय लगातार ४ विकेट गुमाएको श्रीलंकालाई दसुन सनका र भनुका राजापक्षेले आक्रामक पारी खेल्दै जित दिलाए । सनकाले नटआउट ३३ तथा राजापक्षेले २५ रनको पारी खेले ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।

भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७२ रनको पारी खेले । यस्तै, सूर्यकुमार यादवले ३४, हार्दिक पाण्ड्या र रिषभ पन्तले समान १७–१७ तथा रविचन्द्रन आश्विनले १५ रन बनाए ।

भारतका विराट कोहली शून्य रनमा आउट हुँदा ओपनर लोकेश राहुल ६, दिपक हूड्डा ३ रनमा आउट भए ।

जितसँगै श्रीलंका सुपर फोरको शीर्ष स्थानमा छ । श्रीलंकाले दुई खेलबाट ४ अंक जोडेको छ । यस्तै, पाकिस्तानको २ अंक छ । भारत र अफगानिस्तानले भने अहिलेसम्म अंक जोड्न सकेको छैन ।

दुई खेलमा पराजित भारतको फाइनल यात्रा कठिन भएको छ । आज अफगानिस्ताल र पाकिस्तान खेल्दै छन् । पाकिस्तानले शुक्रबार श्रीलंकासँग अन्तिम खेल खेल्ने छ । भारत फाइनल पुग्नका लागि पाकिस्तानले बाँकी दुवै खेल हार्नुपर्ने हुन्छ । अन्यथा भोलिको खेल जिते पनि भारत बाहिने छ ।

फाइनल आइतबार हुने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board