पोखरा । नौ दिनअघि अमेरिकाबाट नेपाल आएकी आफ्नी श्रीमतीको हत्या गरेर पोखराका एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर १४ छिनडाँडा घर भएका ४६ वर्षीय लोकबहादुर गुरूङले आफ्नी ४४ वर्षीया श्रीमती विमला गुरूङलाई खुकुरी प्रहार गरी हत्या गरेर आत्महत्याको प्रयास गरेका हुन्।
अत्याधिक मादक पदार्थ सेवन गर्ने लत भएका लोकबहादुरले शुक्रबार बिहान ८ बजे आफ्नी श्रीमाती विमलालाई खुकुरी प्रहार गरेर घाइते बनाएपछि आफुले आफैलाई पेटमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी बिमला र आफैले पेटमा खुकुरी घोपेर घाइते भएका लोकबहादुरलाई प्रहरीले उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको बताइएको छ।
उपचारका लागि अस्पताल ल्याइएकी विमलाको उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको र लोकबहादुरको चिन्ताजनक अवस्थामा सोही अस्पतालमा उपचार भईरहेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए। घाइते लोकबहादुरको पेटमा गहिरो चोट लागेको अवस्थामा उपचार भैरहेको उनका आफन्तले बताए ।
तीन छोराकी आमा बिमला गएको भदौ ९ गते मात्र अमेरिकाबाट पोखरा घर आएकी थिइन् भने तीज मान्न लोक बहादुरकी बहिनी स्याङजाबाट पोखरा आएकी थिइन्।
घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रतिक्रिया