भारतीय सेना प्रमुख पाण्डे आज नेपाल आउँदै

काठमाडौँ, १९ भदौ । भारतीय सेनाका प्रमुख मनोज पाण्डे पाँच दिने भ्रमणका लागि आज नेपाल आउँदै छन् । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाका प्रमुख पाण्डे आइतबार पाँच सदस्यीय भ्रमणदलका साथ नेपाल आउन लागेका हुन् ।

पाँच दिने भ्रमणका दौरान जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली, जंगी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट एवम् छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरूप प्रदान हुने विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रमलगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको क्रममा नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ ।

यस्तै, उनले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

पाण्डे आगामी सेप्टेम्बर ८ सम्म नेपाल भ्रमणमा रहने छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति