२४ घन्टे अल्टिमेटमपछि काठमाडाै फनपार्कले तिर्‍यो बाँकी १७ लाख बढी मनोरञ्जन कर

काठमाडौं, १६ भदौ । भृकुटीमण्डपस्थित काठमाडाै फनपार्कले काठमाडौं महानगरपालिकाकाे २४ घन्टे अल्टिमेटम पछि बाँकी कर तिरेको छ ।

भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि बुझाएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षको हो। ‘उहाँहरूले आज आएर केही कर बुझाएर जानुभएको छ,’ उनले भने, ‘अन्य कर भने तिर्नुभएको छैन।’ अधिकारीका अनुसार मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर भनी तिर्नुपर्ने नियम छ।

यस्तै, फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ। उक्त कर भने उनीहरूले वडामा बुझाउनु पर्ने छ। ‘व्यवसाय कर भने वडामा नै तिर्नुपर्ने हुन्छ,’ उनले भने, ‘व्यवसाय कर एकद‍ेखि डेढ लाखको हाराहारीमा होला। त्यसको लागि हामीले चिठी काटिसकेका छौंं। उहाँहरू कर तिर्नेमा सकारात्मक हुनुहुन्छ।’

६० रोपनी जग्गा समाज कल्याण परिषदले फनपार्कलाई भाडामा दिएको छ। बहाल करको दस प्रतिशत कर परिषदले महानगरलाई बुझाउनुपर्ने हुन्छ। महानगरले २४ घन्टाभित्र कर बुझाउन अल्टिमेटम दिएपछि मनोरञ्जन कर मात्र बुझाएको हो।

पटक-पटक आग्रह गर्दा पनि वर्षौंदेखि महानगरलाई बुझाउनु पर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नतिरेपछि महानगरले‍ २४ घन्टे अल्टिमेटम दिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति