काठमाडौँ, १५ भदौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि शेरबहादुर देउवासँग बालुवाटारमा छलफल भइरहेको छ ।
दुई शीर्ष नेताको छलफलमा माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र कांग्रेस नेता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी रहेका छन् ।
बुधबार साँझ ५ बजेपछि प्रधानन्त्री निवासमा भइरहेको छलफलबीच सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। अध्यक्ष नेपाल बालुवाटारमा केही बेर बसेर शीतल निवास पुगेका हुन्। पुनर्विचारका लागि संसदमा फर्काइएको नागरिकता विधेयकलाई लिएर राष्ट्रपतिले सत्तारुढ दलसँग चरणवद्ध छलफल गरिरहेकी छन्।
यसअघि उनले कांग्रेस सभापति देउवासहितका नेताहरुसँग र बुधबार प्रचण्डसहितका माओवादी नेताहरुसँग छलफल गरिसकेकी छन्। शीर्ष नेताहरुको बालु्वाटारको छलफल आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका १ सय ६५ सिट बाँडफाँटमा केन्द्रित रहेको बताइएको छ।
सत्ता गठबन्धनमा प्रदेश सभाको ३ सय ३० सिट बाँडफाँटमा पनि कुरा मिल्न सकेको छैन। पाँच दलीय गठबन्धनले बनाएको कार्यदल दुवै सभाको सिट बाँडफाँटमा असफल भएपछि शीर्ष नेताहरु छलफलमा जुटेका हुन्। अहिलेसम्म कांग्रेसले प्रतिनिधि सभाको एक सय सिट, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३५ र राष्ट्रिय जनमोर्चाले २ सिटको दाबी गरेको छ।
सिट बाँडफाँट र नागरिकता विधेयकका विषयमा अहिले शीर्ष नेताहरुबीच छलफल भइरहेको नेताहरुले बताएका छन्।
प्रतिक्रिया