कैलाली १ : सत्ता गठबन्धनभन्दा नागरिक उन्मुक्ति पार्टी कति सशक्त ? रेशमको विरासत रञ्जिताले जोगाउला ?

धनगढी । कैलाीको क्षेत्र नं. १ बाट विजयी भएर पनि टीकापुर काण्डका आरोपी रेशम चौधरी जेल जीवन बिताइरहेका छन् । सो क्षेत्रमा अहिले रेशमकै निर्देशनमा खोलिएको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा रेशमकी श्रीमती रञ्जिता श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेकी छन् ।

स्थानीय तहअघि स्थापित सो पार्टीले कैलाली १ का बहुमत वडामा जित हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टी एक्लैले वर्तमान सत्ता गठबन्धनभन्दा बढी मत प्राप्त गरेका छन् ।

कैलालीका १३ स्थानीय तहमध्ये नागरिक उन्मुक्ति पार्टीले ४ स्थानीय तहमा बाजी मारेको थियो । उसले भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै र टीकापुर नगरपालिकामा प्रमुख जितेको छ।

आउँदो मंसिर ४ गते तोकिएको संसदीय चुनावमा देशभर अधिकांश ठाउँमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

स्थानीय तह निर्वाचनको मतपरिणामको आधारमा कैलालीका केही क्षेत्रमा सत्ता गठबन्धन, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।

यी मध्येको एक ठाउँ हो, कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा ०७४ सालको संसदीय निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका रेशम चौधरी भारी मतान्तरले विजयी भएका थिए।

यो क्षेत्रबाट यसपटक नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रेशम पत्नी रन्जिताले संसदीय चुनाव लड्ने घोषणा गरेकी छन्। रेशम यसपटक बर्दिया–२ बाट निर्वाचन लड्ने योजनामा छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जितेका ४ पालिकाको भूभाग पर्छ। नागरिक उन्मुक्ति पार्टीको आधार इलाका मानिएको कैलाली १ लाई सत्तारुढ गठबन्धन र नेकपा एमालेको अंकगणित उथलपुथल पार्ने क्षेत्रको रुपमा हेरिएको छ।

टीकापुर हत्याकाण्डका आरोपी रहेका चौधरी ०७४ को निर्वाचनमा भूमिगत थिए। भूमिगत अवस्थामै निर्वाचन लडेका उनले वामगठबन्धनबाट एमालेकी मदनकुमारी शाह ९गरिमा० लाई २० हजार ९३५ मतान्तरले पराजित गरेका थिए।

चौधरीले ३४ हजार ३४१ मत ल्याउँदा शाहले १३ हजार ४०६ मत मात्रै ल्याएकी थिइन्। शाह अहिले नेकपा एकीकृत समाजवादीकी सुदूरपश्चिम इन्चार्ज छन्। भारी मतान्तरले विजयी भए पनि हत्याकाण्डमा मुछिएका रेशम संसद छिर्न पाएनन्।

सत्तारुढ गठबन्धनविरुद्ध कैलाली १ मा पहिलो पटक संसदीय चुनाव ‘फेस’ गर्न लागेकी रन्जितालाई रेशमको विरासत जोगाउनु पर्ने चुनौती छ। कैलालीमा नागरिक उन्मुक्ति पार्टीले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने चर्चा पनि व्यापक छ।

नागरिक उन्मुक्ति पार्टीका कैलाली अध्यक्ष कैलाश चौधरी आफूहरुले कसैसँग तालमेल नगरेर एक्लै चुनावमा जाने बताउँछन्।

‘हामी एक्लै चुनावमा जान्छौँ, झुठा मुद्दामा फसाएर जनप्रतिनिधिलाई जेलमा थुनियो, यस क्षेत्रका जनतालाई जनप्रतिनिधिविहिन बनाइयो,’ उनले भने, ‘यो यस क्षेत्रका बासिन्दाले राम्रोसँग बुझेका छन्, हाम्रो जित निश्चित छ।’

निर्वाचन क्षेत्र नम्बर १ मा टीकापुर नगरपालिका ९, जोशीपुर गाउँपालिकाका ७, जानकी गाउँपालिकाका ५ र भजनी नगरपालिकाका २ वडा गरेर कूल २३ वडा पर्दछन्।

यी पालिकामध्ये टीकापुरको उपमेयर बाहेक अन्यको प्रमुख र उपप्रमुखमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ। स्थानीय तहको निर्वाचनको मतपरिणामले नागरिक उन्मुक्ति पार्टी हौसिएको छ।

नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा पर्ने २३ वडामध्ये ११ वडामा जित निकालेको छ। जुन सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको भन्दा बढी हुन आउँछ। माओवादीले ५, कांग्रेस र एमाले ३र३ तथा जसपाले एक वडा जितेको छ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा पनि सबैभन्दा बलियो नागरिक उन्मुक्ति देखिन्छ।

१ नम्बर क्षेत्रमा पर्ने २३ वडाका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार १९३ मत पाएका छन्।

कांग्रेस उम्मेदवारले ११ हजार ६७८ मत पाउँदा एमाले उम्मेदवारले १० हजार ३२२ मत पाएका छन्।

यस्तै, माओवादीले ६ हजार ९३० मत, राप्रपाले ३ हजार ५६१, जसपाले २ हजार ३०२ र नेकपा एकीकृत समाजवादीले २ हजार २३२ मत पाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति