खेलाडीलाई तीजले छोएन

काठमाडौँ, १३ भदौ । हिन्दू धर्मावलम्बी नारीको महान् पर्व हरितालिका तीजमा कैयौँ महिलाले रमाइलो गरिरहँदा देशका लागि पसिना बगाउने कतिपय खेलाडी भने यतिबेला पशिक्षणमा व्यस्त छन् ।

घरपरिवार, इष्टमित्र, साथीसङ्गीसँग रमाउने रहर हुँदाहुँदै पनि देशको प्रतिष्ठा जोगाउनकै लागि पनि यतिबेला खेलाडी हरेक दिन मेहनत गरिरहेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०का कारण विगतका केही वर्ष तीज मनाउन नपाएका खेलाडीका लागि यसपटकको तीज पनि यस्तैयस्तै हुन पुगेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्री भण्डारीले तीज पर्वमात्रै नभइ चाडपर्व नै बिर्सिसकेको बताइन् । “खेल क्षेत्रमा आएको सुरुसुरुको वर्षमा परिवार साथीसङ्गी निकै मिस हुन्थ्यो तर अब त इज टु भइसकेको छ, खेलाडीका लागि चाडपर्वभन्दा पनि खेल नै ठूलो हो”, भण्डारीले भनिन् ।

फुटबलका प्रायः सबै खेलाडीको भनाइ यस्तै नै रहेको छ । चाडपर्वभन्दा पनि उनीहरुको मुख्य प्राथमिकता खेल नै रहेको देखिन्छ । राष्ट्रिय फुटबल टोलीका टिम म्यानेजर विन्द्रा देवानले खेलाडी क्लोज क्याम्पमा भएका कारण यसपटकको तीजमा महिला खेलाडीलाई घर पठाउन सम्भव नभएको बताए ।

उनले नजिकिँदै गरेको महिला साफ च्यापियनसिपका कारण पनि खेलाडीलाई तीज मनाउनकै लागि भनेर घरमा पठाउन नसकिएको बताए । “नेपाली महिलाको महान् पर्व तीज हो, हामी प्रशिक्षणकै दौरानमा खेलाडीसँग शुभकामना आदान प्रदान गर्नेछौँ, खेलाडीमात्र नभई महिला प्रशिक्षकलाई पनि तीज पर्वले छोएको छैन”, उनले भने।

तीज पर्वभन्दा पनि खेल क्षेत्रबाट नेपालको नाम कसरी उच्च बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित रहेको नेपाली राष्ट्रिय फुटबल टोलीकी सहायक प्रशिक्षक कमला खरेलले बताइन् । उनले यसअघिका वर्षमा भने तीज मनाउँदै आएको तर यसपटक भने उनको तीज खेलाडीसँग बित्नेछ ।

“अघिल्ला वर्षमा परिवार साथीसँग जमघट गरेर तीज मनाउँदै आउने गरेको थिएँ तर यसपटक साफ च्याम्पियनसिपमा नेपालले कसरी गोल्डमेडल भित्र्याउन सक्छ भने विषयमा नै मेरो ध्यान छ”, उनले भनिन्।

उनले साफ च्याम्पियनसिपमा प्रायः दोस्रो बन्दै आएको नेपाललाई यसपटक भने पहिलो बनाउने उदेश्यका साथ अभ्यास गरिरहेको बताइन् । तीज पर्वभन्दा पनि घरेलु मैदानमा लगातार दोस्रोपटक आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने उदेश्यका साथ महिला खेलाडी प्रशिक्षणमा व्यस्त देखिन्छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board