पाकिस्तानमाथि भारतको रोमाञ्चक जित

काठमाडौँ, १३ भदौ । एसिया कप अन्तर्गत समूह चरणको खेलमा भारतले पाकिस्तानमाथि रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरूवात गरेको हो ।

पाकिस्ताले दिएको १४८ रनको लक्ष्य भारतले २ बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा पूरा गर्‍यो । भारतलाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमै क्रिजमा सेट भएका ब्याटर रविन्द्र जडेजा मोहम्मद नवाजको बलमा बोल्ड आउट भए । लगत्तै आएका नयाँ ब्याटर दिनेश कार्तिकले १ रन लिँदै अर्का ब्याटर हार्दिक पाण्ड्यालाई स्ट्राइक दिए ।

तेस्रो बलमा पाण्ड्याले कुनै रन बटुल्न सकेन भने चौथो बलमा उनले छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।

खराब सुरूवात गरेको भारतले पहिलो ओभरको दोस्रो बलमै ओपनर लोकेश राहुललाई शून्य रनमा गुमायो । त्यसपछि कप्तान रोहित शर्माले विराट कोहलीसँग सम्हालिएर खेले पनि उल्लेख्य रन बनाउन सकेनन् । शर्मा १८ बलमा १२ रन बनाउँदै आउट भए ।

कोहली र रविन्द्र जडेजाले समान ३५/३५ रनको योगदान गरे भने पाण्ड्या ३३ रनमा अविजित रहे । यस्तै, सूर्यकुमार यादवले १८ रन जोड्दा दिनेश कार्तिक एक रनमा नटआउट रहे ।

पाकिस्तानका मोहम्मद नवाजले ३ तथा नसीम शाहले २ विकेट लिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान अन्तिम बल बाँकी रहँदा १४७ रनमा समेटियो ।

पाकिस्तानका मोहम्मद रिजवानले ४३, इफ्तिखर अहमदले २८ रन बनाए । यस्तै, अन्तमा शाहनवाज दहनीले १६ रनको पारी खेल्दा हरिस रौफ १३ रनमा नटआउट रहे ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा भुवनेश्वर कुमारले ४, हार्दिक पाण्ड्याले ३, अर्शदीप सिंहले २ तथा अवेश खानले १ विकेट लिए ।

समूह ‘ए’मा भारत, पाकिस्तान र हङकङ छन् । समूह ‘बी’ मा श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् । समूहको शीर्ष दुई टोली सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् । सुपर फोरका शीर्ष दुई टोली फाइनल खेल्ने छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board