नेपाल ४ विकेटले विजयी

काठमाडौँ, १३ भदौ । तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ । जितसँगै नेपाल पाँच खेलको शृंखलामा २–१ को अग्रता लिएको छ ।

केन्याले नेपाललाई १५६ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य १९.३ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए । यस्तै, अर्जुन साउदले ३५, रोहित पौडेलले २९ र पवन सर्राफले २० तथा आदिल आलमले १६ रन बनाए ।

लक्ष्य पछ्याउने क्रममा नेपालले राम्रो सुरुवात गरेको थियो । डेब्युटान्ट अर्जुन साउद र पवन सराफले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरे । पवन सर्राफले १२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २० रन मात्र बनाए ।

आसिफ शेखको स्थानमा खेल्दै डेब्यु गरेका युवा विकेटकिपर ब्याटर अर्जुन साउदले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४२ रनको साझेदारी गरे । अघि बढेर खेल्न खोज्दा उनी ११औँ ओभरमा बोल्ड भए । अर्जुनले ३१ बल खेल्दै २ चौका र ३ छक्काको मद्धतमा ३५ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले ५ बलमा ६ रन मात्र जोडे । ज्ञानेन्द्र र रोहितले चौथो विकेटका लागि ५४ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए । रोहितले १८ बल खेल्दै ३ चौका र १ छक्का मद्धतमा २९ रन बनाए । अर्धशतकबाट चार रनले चुकेका ज्ञानेन्द्रले ४१ बल खेल्दै ४ चौका र १ छक्काको मद्धतमा ४६ रन बनाए । आक्रमक ब्याटिङ गरेका आदिल आलमले ७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाए । ठुलो सट हान्ने चक्करमा आदिल आउट भएका थिए । आरिफ शेखले अविजित ४ रन बनाए ।

केन्याका लागि युगेन ओचिएङ र भिराज पटेलले २–२ विकेट लिए ।

यसअघि राकेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरेपछि नैरोवीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १५६ रन बनाएको थियो । यो जोडीले तेस्रो विकेटका लागि अविजित १२७ रनको साझेदारी गरे । पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्काको मद्धतमा अविजित ७३ रन बनाए ।

यस्तै, करिमबले ४७ बल खेल्दै ४ चौका र २ छक्का मद्धतमा ५५ रन जोडे । केन्याले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो । पावर प्ले मा नेपालले केन्याका दुवै ओपनरलाई आउट गरेपनि पटेल र करिमसुम नेपाली बलर कमजोर देखिए । कोलिन्स ओबुया १४ र सुकदिप सिंह ८ रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामी र बदिल आलमले एक–एक विकेट लिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board