नेविसंघले आतंक सिर्जना गर्‍यो, विश्वविद्यालय सुरक्षित भएन

काठमाडौं, १२ भदौ । त्रिभुवन विश्वविद्यालयका उपुकलपति धर्मकान्त बास्कोटाले शान्ति सुरक्षाको अभावमा विश्वविद्यालय संचालन गर्न कठिनाई भएको गुनासो गरेका छन् ।आईतबार विश्वविद्यालयका पदाधिकारी सहित पत्रकार सम्मलेन गर्दै उनले विश्वविद्यालका पदाधिकारी, प्राध्यापक र कर्मचारीलाई भरपर्दो सुरक्षाको प्रबन्ध गर्न माग गरे । शुक्रबार सत्तारुढ नेपाल विद्यार्थी संघका कार्यकर्ताले कार्यकारी परिषद् बैठकको फाइल लगायत कागजात नियन्त्रण लिएपछि विश्वविद्यालयले शान्ति सुरक्षाको व्यवस्था मिलाईदिन गृह मन्त्रालयसँग आग्रह गरेको हो ।

शुक्रबार जमलस्थित यलो प्यागोडा होटलमा कार्यकारी परिषद्को बैठक बस्दा नेविसंघका कार्यकर्ता योगेन्द्र रावल, श्यामराज ओझा लगायतका विद्यार्थीले जबरजस्ती कागजात नियन्त्रणमा लिएको विश्वविद्यालयले जनाएको छ । ‘नेविसंघको नाममा एक जत्थाले विश्वविद्यालयमा तालाबन्दी गर्ने, धम्की दिने, प्राध्यापकमाथि कुटपिट गर्ने, तोडफोड गरेर आतंक सिर्जना गर्ने गर्दै आएको छ,’ उपकुलपति बाँस्कोटाले भने, ‘आजदेखि हाम्रो शान्तिपूर्ण आन्दोलन अशान्तिपूर्ण हुँदैछ विश्वविद्यालय नआउनु भनेर एसएमएस आउँछ, कुलपतिले विश्वविद्यालयमा काम गर्नु भनेर नियुक्ति दिनु भएको हो, अब हामी कहाँ जाने ?’

विश्वविद्यालयमा शान्ति सुरक्षाको अवस्था राम्रो नभएकाले होटलमा गएर कार्यकारी परिषद् बस्नुपर्ने बाध्यता रहेको उनले सुनाए । नेविसंघले नियन्त्रणमा लिएको कागजात सोहि दिन शिक्षामन्त्री देवेन्द्र पौडेललाई बुझाइसकेको छ । आईतबार पत्रकार सम्मेलन गर्दै गर्दा पनि कीर्तिपुर परिसरमा नेविसंघ, अनेरास्ववियू र प्रहरीबीच झडप भएको थियो । झडपमा आफ्ना केहि कार्यकर्ता घाईते भएको दुवै पक्षले दाबी गरेका छन् । पत्रकार सम्मेलन गर्न पदाधिकारी विश्वविद्यालय पुग्दा नेविसंघले विरोध र अनेरास्ववियूले समर्थनमा प्रर्दशन गरेका थिए ।

पत्रकार सम्मेलनमा सहभागी प्राध्यापक कर्मचारीहरुले नेविसंघका कारण विश्वविद्यालय दर्दनाक अवस्थामा पुगेको गुनासो गरे । ‘तालाबन्दी हुन्छ, त्यसको विरुद्ध बोल्यो भने ज्यान नै जोखिममा पर्छ,’ कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डिन भार्गभ धितालले भने, ‘विश्वविद्यालयमा बोल्न सक्ने अवस्था समेत छैन ।’ एक महिनादेखि रजिष्ट्रार, व्यवस्थापन र मानविकी डिन कार्यालयमा नेविसंघको तालाबन्दी कायमै छ । प्रश्नपत्र हुबहु छाप्ने दोषीलाई कारबाही हुनुपर्ने नेविसंघको माग छ । विश्वविद्यालयले भने प्रश्नपत्रमा हुबहु गर्नेलाई ३ वर्षसम्म परीक्षा र पठनपाठनमा सहभागी हुन नपाउने कारबाहही गरिसकेको जनाएको छ । दोषीको नाम भने गोप्य राखिएको छ । नाम सार्वजनिक गर्दा सुरक्षा खतरा हुने अनुमान गरेर गोप्य राखिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

नेविसंघले उपकुलपतिमा बाँस्कोटा नियुक्ति भएदेखि ९२०७६० यता श्रंखलाबद्ध तालाबन्दी गर्दै आएको छ । गत वैशाखमा उपुकलपति कार्यालयमा गरिएको तालाबन्दी ५ महिनापछि खुलेको थियो । उक्त ताला खुलाउन प्रतिनिधि सभामा सांसदहरुले समेत माग गरेको थिए । नेविसंघको केन्द्रीय समितिको निर्देशनमा ताला खोलिएको हो । ‘पदाधिकारीको कार्यकक्षमा जबरजस्ती प्रवेस गरी तोडफोड गर्ने, कार्यकक्ष प्रवेस गर्न निषेध गर्ने, दुर्व्यवहार गर्दा सुरक्षाकर्मी मुकदर्शक भएर हेरेर बसिरहने गर्छन्,’ विश्वविद्यालयले विज्ञप्ति निकालेर भनेको छ । तालान्दीको कारण असारदेखि शिक्षक कर्मचारीले तबल सुविधा पनि पाएका छैनन् । नेविसंघका त्रिवि नेता ओझाले उपकुलपति बाँस्कोटाले अनेरास्ववियूको विद्यार्थी लगाएर कुटपिट गरिएको आरोप लगाए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board