काठमाडौँ, १० भदौ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।
पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको हो ।
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ ।
बिहीबार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले १ सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दाबी पेस गरेका छन् ।
सिट बाँडफाँड टुंगोमा पुग्नका लागि कार्यदलको बैठक झन्डै एक महिनादेखि चलिरहेको भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । कार्यदलको बैठकले विस्तृत अध्ययन प्रतिवेदन बुझाएपछि गठबन्धनका शीर्ष नेताले अन्तिम निर्णय लिने छन् ।
प्रतिक्रिया