काठमाडौँ, ४ भदौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । घाँटीको क्यान्सर र निमोनियाले ग्रस्त भएपछि गिरीलाई ललितपुरस्थित मेडिसिटी अस्पतालको भेन्टिलेटरमा राखिएको छ ।
नेता गिरीका स्वकीय सचिव कृष्ण खनालका अनुसार शुक्रबारदेखि उनको अवस्था झन् जटिल बन्दै र गम्भीर बन्दै गएको छ । यससँगै विभिन्न उच्च तहका नेता तथा शुभेच्छुकहरूले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहेका छन् ।
शनिबार बिहान मात्रै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता गिरीलाई भेटेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । प्रचण्डले गिरीको पछिल्लो अवस्थाको जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेका छन् ।
यसअघि मंगलबार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अस्पतालमै पुगेर गिरीलाई भेटेका थिए । शुक्रबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेता विमलेन्द्र निधिलगायतले पनि उनलाई भेटेर स्वास्थ्यमा सुधारका लागि ईश्वरीय चमत्कारको प्रार्थना गरेको बताएका थिए । यसबाट पनि अवस्था जटिल रहेको बुझिन्छ ।
गत साउनको दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना गरिएका पछिल्लो तीन दिनदेखि आइसियूमा राखिएको थियो । अवस्था झन् जटिल बनेपछि शुक्रबारबाट उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया