अष्ट्रेलियाले श्रीलंकालाई थप दुई करोड ५० लाख अमेरिकी डलर सहयोग गर्ने

काठमाडौँ । अष्ट्रेलियाले श्रीलंकालाई अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर विकास सहायता प्रदान गर्ने भएको छ ।

अष्ट्रेलियाका अन्तर्राष्ट्रिय विकास तथा प्रशान्त मन्त्री प्याट कोनरोय र विदेशमन्त्री पेनी वोङले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् ।

“अष्ट्रेलियाले श्रीलंकालाई ७० वर्षयताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बेला अत्यावश्यक खाद्यान्न र स्वास्थ्य सेवाको आवश्यकता पूरा गर्न थप दुई करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको छ । यस चुनौतीपूर्ण समयमा, अष्ट्रेलिया विशेष गरी गम्भीर कठिनाइको सामना गरिरहेका श्रीलंकाका जनताको साथमा उभिएको छ । यो थप सहयोगले अष्ट्रेलियाको आधिकारिक विकास सहायता प्रतिक्रियालाई सात करोड ५० लाख अमेरिकी डलरमा पुर्याएको छ,” अष्ट्रेलियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अष्ट्रेलियाको विदेश मन्त्रालयले श्रीलंकालाई निरन्तर सहयोग गर्दै पारस्परिक हितलाई समर्थन गर्नुका साथै सहयोग र सामुदायिक सम्पर्कमा आधारित ७५ वर्ष लामो सम्बन्धलाई थप मजबुत बनाउने बताएको छ ।

“यो अतिरिक्त मानवीय सहायता सन् २०२२/२३ मा श्रीलंकालाई जारी विकास सहायताका लागि दिइएको दुई करोड ३० लाख अमेरिकी डलरको अतिरिक्त भएको जनाइएको छ ।

यसअघि गत जुनमा अष्ट्रेलियाले श्रीलंकालाई पाँच करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो । श्रीलंकाले अहिले सत्तरी वर्षयताकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ, जसका कारण खाद्यान्न, औषधि र इन्धनको अभाव भएको छ ।

सात दशकयताकै सबैभन्दा खराब आर्थिक संकटका कारण विदेशी मुद्राको अभाव भएको र यसका कारण इन्धन, औषधि र मलजस्ता अत्यावश्यक वस्तुको आयात ठप्प भएको थियो ।

“श्रीलंकाका ३० लाख मानिसहरूलाई उनीहरूको दैनिक पोषण आवश्यकता पूरा गर्न मद्दत गर्न आपतकालीन खाद्य सहायताका लागि हामी विश्व खाद्य कार्यक्रमलाई तत्काल दुई करोड २० लाख अमेरिकी डलर सहयोग गर्नेछौँ ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति