काठमाडौं २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुविकृत गर्ने प्रक्रिया आफूहरु अघि बढेको दावी गरेका छन् । उनले भने अहिले हामी पाँच दलीय गठबन्धनबाटै चुनावमा जाने छौँ। हाम्रो सम्पूर्ण ध्यान निर्वाचनमा रहेको छ। यो निर्वाचन पनि एउटा राजनीतिक संघर्ष हो। निर्वाचनपछि कम्युनिष्ट विचारधारालाई ध्रुवीकृत र एकीकृत गर्ने प्रक्रिया नयाँ रुपमा अघि बढ्छ,’ ।
रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा भएको कार्यक्रममा प्रचण्डले भने ‘कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले ध्रुविकृत गर्ने, एकीकृत गर्ने काम भइराखेको छ ।’
केही समाचार सकारात्मक भएको महसुस गरेको प्रचण्डले बताए । त्यसको उदाहरणको रुपमा उनले माओवादी केन्द्रको चिह्नमा चुनाव लड्ने डा.बाबुराम भट्टराई र बामदेव गौतमको निर्णय तथा पार्टी एकता संयोजन समिति गठन गर्ने एकीकृत समाजवादीको तयारीतर्फ संकेत गरेका थिए ।
‘तर यतिले मात्रै नपुग्ने भन्दै प्रचण्डले भने‘अझ धेरै वामपन्थी, प्रगतिशिल, देशभक्त शक्तिहरुलाई एकताबद्ध गर्ने र देशमा समाजवादको आधार निर्माण गर्दै लैजाने उद्देश्य पूरा गर्न हामीले अझ धेरै मिहिनेत गर्नुपर्ने छ ।’ प्रचण्डको आफ्नै नेता कर्याकर्तालाई आग्रह थियो माओवादीमा क्रान्तिकारी स्पिरिट कमजोर हुँदै गएको बताउँदै भनाइ र गराईको अन्तरविरोध हल गर्ने उपाय खोज्न सुझावसमेत दिए । ‘सबैले सोचौं, भनाइ र गराईलाई एकरुपतामा ल्याउने, सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर फेरि एउटा आन्दोलन सुरु गर्ने तिर हामी सबैको बुद्धि विवेक, बर्कत लागोस् ।’ अन्यथा माओवादीहरुले हामी क्रान्तिकारी हौं भन्ने औचित्य सिद्धिने भन्दै प्रचण्डले आफ्नै पार्टीको भविष्यप्रति चिन्ता व्यक्त गरे ।
समाजवादको आधार निर्माण र कम्युनिष्ट आन्दोलनाई सबल बनाउने नयाँ आधार निर्माण हुन लागेको भन्दै प्रचण्डले त्यस प्रक्रियालाई सार्थक बनाउन अझै मिहिनेत गर्नुपर्ने बताए।
‘थुप्रै विचलनकाबीच माओवादी केन्द्र क्रान्तिकारी पार्टी बन्ने सम्भावना अझै रहेको’ उनले दावी गरे । ‘नयां क्रान्तिकारी विचार र नेतृत्वका लागि छिट्टै अर्को महाधिवेशन गर्नु पर्ने आवश्यकता रहेको भन्दै उनले भने‘विचार र अन्तर्राष्ट्रिय परिस्थितिको संश्लेषण गरेर अर्को महाधिवेशन छिट्टै गर्दै माओवादीलाई क्रान्तिकारी पार्टीको रुपमा विकास गर्न सकिन्छ । गत वर्षको पुसमा माओवादी केन्द्रको महाधिवेशन भएको थियो ।
‘
प्रतिक्रिया