जित सुनिश्चित गर्न माओवादीको चुनाव चिन्ह रोजेँ : वामदेव गौतम

काठमाडौँ। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रतिनिधिसभामा जित सुनिश्चित गर्न माओवादी केन्द्रको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गर्न लागेको बताएका छन् ।

उनले जित निश्चित गर्न आफूले नै माओवादी केन्द्रको चुनाव चिन्हबाट प्रतिस्पर्धा गर्ने इच्छा जाहेर गरेको बताए ।

“गोलाकारभित्रको हँसिया हथौडा भएको चुनाव चिन्हबाट म चुनाव लड्छु भनेर मैले इच्छा जाहेर गरेको हो । त्यसो गर्न म किन बाध्य भएँ भने त्यसो गरेपछि गठबन्धनले नलिइकन पनि म गठबन्धनमा सामेल हुन्छु, र मेरो जित सुनिश्चित हुन्छ,” उनले भने ।

नेता गौतमले आफूले सत्तारूढ दलको गठबन्धनमा सामेल नभएको तर माओवादी केन्द्रसँग गठबन्धन गरेको टिप्पणी गरे । “म गठबन्धनमा छैन, गठबन्धनमा छु भन्दा गठबन्धनाको बैठकमा प्रतिनिधित्व गर्न जान पर्‍यो, म त्यसमा जाँदिन । माओवादीसँगको मात्र मेरो गठबन्धन हो,” उनले भने ।

सिट भागबन्डा सत्तारूढ गठबन्धनमै मिलाउने कि माओवादी केन्द्रसँग लिने भन्ने प्रश्नमा गौतमले भने, “प्रचण्डलाई जिम्मा दिएको छु, उनले दाबी गरेर ल्याउनुहुन्छ कि आफैँ दिनुहुन्छ, म प्रचण्डको हिस्साबाट मैले पाउने हो ।”

माओवादीको चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेपछि ऐन र कानुनले जे व्यवस्था गरेको छ माओवादी केन्द्रसँग पनि त्यस्तै सम्बन्ध रहने गौतमले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board