लन्डन । एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेलले पैसा निकासा नगरिदिंदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली काटिएको छ ।
कोषाध्यक्ष खरेलले बील नतिरिदिंदा गत जुलाईदेखि अफिसमा बिजुली काटिएको हो ।
संघले झण्डै २५ सय पाउण्ड बील तिर्न बांकी छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलाई असफल तुल्याउन नियोजित तरिकाले संस्थाको पैसा ‘होल्ड’ गरिएको भनाइ छ ।
‘कोषाध्यक्ष संघको बैंक अकाउन्ट आफ्नै झैं गोजीमा राखेर गायब छ, यता अफिसमा पैसा नतिरेर बिजुली काटिएको छु, एनआरएनए यूके अध्यक्ष गाहामगरले भने, ‘यस्तो लाजमर्दो स्थिति छ कि बेलायत जस्तो ठाउंमा बत्ति छैन् । मैले अहिले साथीको घरबाट एक्सटेन्सनमार्फत बत्ति ल्याएर काम गरिरहेको छु ।’
अध्यक्ष प्रेम गाहामगरले नेतृत्व सम्हालेको गत ६ अगष्टमा एक वर्ष पुरा भइ वार्षिक साधारणसभा समेत सम्पन्न भएको छ । एनआरएनए यूकेको विधान बमोजिम कोषाध्यक्षले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुपर्नेमा विष्णु खरेल उपस्थित भएनन् । उनले विधान विपरित विगत एक बर्षमा अहिलेसम्म एकपटक पनि संघको हिसावकिताव देखाएका छैनन् । बैंकको ठेगाना उनले आफ्नै घरको प्रयोग गरेका छन् ।
२५ जुन, २४ जुलाइ र ४ अगष्ट, २०२२ मा सम्पन्न संघको कार्यसमिति बैठकमा जिम्मेवारी प्रदान गरि ‘फलोअप’ हुंदा कोषाध्यक्ष खरेलले साधारणसभामा आयव्यय विवरण प्रस्तुत गर्ने वाचा गरेका थिए ।
उनले साधारणसभा हुने स्थान अल्डरसटस्थित एम्पायर हलका मालिक पुरन गिरीलाई फोन गरी आफ्नो सुरक्षाका लागि सेक्यूरिटी गार्ड राखिदिन अनुरोध गरेपछि ६३० पाउण्ड तिरेर ४ जना सेक्युरिटी गार्ड समेत हायर गरिएको थियो । तर, खरेल साधारणसभामा उपस्थित नै भएनन् ।
४ पटकका बैठकमा सहमति जनाएर पनि साधारणसभामा नआउने, प्रायोजकले दिएको ३७०० पाउन्ड समेत आँफैँ राख्ने अनि साधारणसभामा भएको खर्च पनि नतिरेर खरेलले गैर जिम्मेवारीपूर्ण काम गरेको एकजना एनआरएनए यूके पदाधिकारीले बताए ।
प्रतिक्रिया