‘राडर गन’सहित ट्राफिक प्रहरी सडकमा

  • मोहम्मद हबिब

भैरहवा । तीव्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्न रुपन्देहीमा राडर गनसहित ट्राफिक प्रहरी राजमार्गमा खटिएको छ । अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पिड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै कारबाही थालिएको हो ।

रुपन्देहीमा भएको दुर्घटनामध्ये ९० प्रतिशत दुर्घटना तीव्र गतिका कारण हुने गरेको तथ्यांक देखिएको छ । उक्त दुर्घटनामध्ये अधिकांश बुटवल भैरहवा सडक खण्डमा तीव्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनीकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले बताए ।

“जिल्लाका राजमार्गहरुमा तीव्र गतिले सवारी दुर्घटना बढ्दै गइरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनीकरण गर्न यो अभियान सुरू गरेका छौँ । पहलो दिन ३२ वटा, दोस्रो दिन ३८ वटा र तेस्रो दिन ४२ सवारीसाधन कारबाहीमा परेका छन् । राजमार्गमा गुडेका ६० किलोमिटर प्रतिघण्टाभन्दा बढी हाँक्ने सवारीलाई कारबाही गरिएको छ,” प्रमुख केसीले भने ।

दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले सिद्धार्थ राजमार्गको सडकमा अभियान केन्द्रित छ । यसलाई हुलाकी सडक र अन्य राजमार्गमा पनि लैजाने कार्यालयको योजना छ । हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय समटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीव्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बरसहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पिडका त्यस्ता सवारी साधन रोकेर सम्झाइबुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकाले तत्काल सप्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज भएको ट्राफिक प्रहरी प्रमुख केसीले बताए । राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा एक सय किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको छ, तीव्र गतिमा अधिकांश निजी कारहरू रहेका छन भने सरकारी गाडी, मोटरसाइकल र स्कुल बस पनि कारबाहीमा परेका छन् ।

“पहिलो दिन हामीले जिल्लाको विभिन्न ठाँउबाट ३२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेका छौँ, जसमध्ये जसमध्ये २३ वटा चार पांग्रे गाडी, आठवटा मोटरसाइकल र एउटा ई–रिक्सा रहेको छ । त्यस्तै, दोस्रो दिन ३८ र तेस्रो दिन ४२ सवारीसाधनलाई ५ सय जरिबानासहित कारबाही गरेका छौँ,” केसीले भने ।

रुपन्देहीमा आव २०७८/७९मा १७२ वटा दुर्घटना भएकोमा ९४ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनाहरूमा धेरै तीव्र गति र चालकको गल्तीका कारण हुने गरेको अनुसन्धानले देखाएको छ । ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गरेपनि दुर्घटना र मृतकको संख्या घट्न सकेको छैन ।

चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारबाही, आफू बचौँ अरूलाई बचाऔँ, ट्रिपर हाइवे चेकजाँचका लागि टेंगो होटल, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेलाई कारबाही छाडा पशु र सवारीसाधनमा रिफलेक्टर लगायतका अभियान रुपन्देही ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board