फिफा विश्वकपको तालिका हेरफेर, उद्घाटन खेलमा कतार र इक्वेडर भिड्ने

काठमाडौँ । अन्ततः कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सरेको छ । आगामी नोभेम्बरदेखि कतारमा सुरू हुने फिफा विश्वकप फुटबल एक दिनअघि सरेको हो ।

जसमा आयोजक देश कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्ने छ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात् तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो । जसले गर्दा पनि उद्घाटन खेलमा नेदरल्यान्ड्स र सेनेगलबीचको
विश्वकपको पहिलो उदघाटन खेल हुने तय भएको थियो ।

आयोजक राष्ट्रले विश्वकपको पहिलो खेल खेल्दै आएको चलनलाई निरन्तरता दिन विश्वकप एक दिन अगाडि सारिएको फिफाले जनाएको छ । कतार र इक्वेडरबीचको खेल अघिल्लो दिन अर्थात् उद्घाटनको दिनमा सारेपछि अब नोभेम्बर २१ मा भने तीन खेल मात्र हुनेछन् । जसमा समूह ‘ए’ का नेदरल्यान्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच प्रतिस्पर्धा हुने छ ।

उद्घाटन खेल आयोजक राष्ट्रलाई दिनु पर्ने सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि केही दिन अघिदेखि गृहकार्य सुरू गरेको थियो । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले त्यो बेला जनाएको थियो ।

सो प्रस्ताव निर्णयार्थ प्रस्तुत भई पारित भएसँगै उद्घाटन खेलमा अब आयोजक राष्ट्र कतारले इक्वेडरको सामना गर्ने छ। सो, खेल तालिका हेरफेरका लागि फिफा काउन्सिल ब्युरोबाट अनिवार्य रूपमा अनुमोदन गराउनु पर्ने नियम छ । जुन खेल तालिका हेरफेर गर्नका लागि भोटिङमा जानुपर्ने नियम पनि रहेको छ । जसअनुसार सो भोटिङमा फिफा अध्यक्ष जियानी इन्फान्टिनोसहित ६ महादेशका अध्यक्षहरूले मतदान गरेका थिए, सो मतदानसँगै बिहीबार अबेर पारित गरिएको थियो । ​

कतार विश्वकप यसअघि नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म तय भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board