अब २० वर्षसम्म एमालेले शासनमा फर्कने आँट नगरे हुन्छ : सहमहामन्त्री यादव

काठमाडौँ, २७ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने बताएका छन् । आगामी निर्वाचनमा एमालेले एक सिट पनि नजित्ने उनको दाबी छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, “अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईंहरूलाई शासनमा ल्याउँदैनन् । अब तपाईंहरू कहाँ चुनाव जित्नुहुन्छ ? सर्भे गर्नुहोस् । स्थानीय तहमा २०० सिट त आयो । यदि हाम्रो वडासम्म गठबन्धन गएको भए १० सिट पनि आउँदैन थियो ।
अबको संसद्को निर्वाचनमा एउटा सिट चाहिँ आउने सम्भावना छ । केपी ओलीले जित्ने सम्भावना छ । त्यो पनि राप्रपासँग गठबन्धन गर्नुभयो भने । नभए कुनै हालतमा आउँदैन । मैले दोहोर्‍याएर भनेको छु कि केपी ओली बल्लबल्ल जित्ने सम्भावना छ । निर्वाचन आयोगको अपडेट लिनुहोस् । यसपटक एमाले शून्यतिर जानसक्छ । हरेक मोर्चामा एमाले असफल भएको छ ।”

पूर्वमन्त्री यादवले एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको आरोप लगाए । उनले भने, “एमालेका साथीहरूलाई म भन्छु– अब राष्ट्रवादको नाममा नेपाली जनता ठग्ने कोसिस नगर्नुहोस् । किताब त छाप्नुभयो । किन पुर्‍याउनुभएन ? स्कुलमा किताब देखिनँ । तुइन हटाउछु भन्नुभएको थियो, हट्यो त ? तपाईंहरूले परराष्ट्र नीति सन्तुलित पनि बनाउन सक्नुभएन । यो सरकारले छोटो अवधिमा देशलाई श्रीलंका हुनबाट बचाइदियो ।”

उनले नागरिकता विधेयक पास दुवै सदनबाट भइसकेको र प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणीकरण गर्न आग्रह गरे ।

सहमहामन्त्री यादवले अहिलेको पाँच दलीय गठबन्धन नेपाली जनताले आवश्यकता महसुस गरेर बनेको उनको भनाइ थियो ।
उनले भने, “यो गठबन्धन नेपाली जनताले आवश्यकता बोध गरेर बनेको हो । गठबन्धन आज पनि कायमै छ, भोलि पनि कायम रहन्छ । भोलि पनि यही गठबन्धनको सरकार बन्छ । यसमा जनता ढुक्क हुनुहोस् ।”

यादवले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा तीन वर्षसम्म यसअघिको ओली सरकारले गर्न नसकेको काम गरेको दाबी गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board