काठमाडौँ। नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पहिलो जापान भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्किए । पार्टीनिकट जनप्रगतिशील मञ्चको निमन्त्रणमा गएका उनको यो भ्रमण अनौपचारिक थियो । प्रचण्डले जापानमा अधिकांश समय नेपाली समुदायसँगै बिताएका थिए । जनप्रगतिशील मञ्चले आयोजना गरेका विभिन्न अन्तरक्रियाहरूमा उनले भाग लिए ।
गैरआवासीय नेपालीले आयोजना गरेको नेपाल फेस्टिबलमा अतिथिका रूपमा सहभागी भए । दोस्रो विश्वयुद्धले ध्वस्त पारेर पुनः निर्मित सहर हिरोसिमा पुगेर शान्ति संग्रहालय अवलोकन गरे । जापानी संसद्को भ्रमण गरे । उनकै शब्दमा जापानका चल्तापूर्जा संसद्सँग भेटघाट गरे ।
प्रचण्ड फर्किएलगत्तै उनको सचिवालयले एक विज्ञप्ति जारी गरी भ्रमणका विस्तृत जानकारी दिएको छ । जसअनुसार प्रचण्डले साइतमा एउटा नर्सरीको समेत अवलोकन गर्न भ्याएका थिए । विज्ञप्तिअनुसार उनको ‘उच्च तहको’ राजनीतिक भेटघाट चाहिँ त्यहाँको लिबरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता तथा संसद् सदस्य मासाकी तायरासँग भएको थियो । तायराले जापानको संसद् भवन ‘डायट’मा प्रचण्डलाई स्वागत गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रचण्डले सांसद भन्दा माथिको राजनीतिक नेतृत्वसँग भने भेटवार्ता गर्न पाएनन् ।
नेपाल फर्केर प्रचण्डले जापानी सांसद्सितको भेटलाई नै उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । ती सांसद्सँग फोहोर व्यवस्थापनदेखि विभिन्न विषयमा सहयोगका लागि आग्रह गरेको उनको भनाइ थियो ।
प्रचण्डको जापान भ्रमणका सन्दर्भमा सचिवालयले जारी गरेको विज्ञप्ति यस्तो छः
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले यही २०७९ साउन २१ गतेदेखि २५ गतेसम्म जापानको भ्रमण सफलतापूर्वक सम्पन्न गर्नुभएको छ । उहाँ नेपाली जनप्रगतिशील मञ्च, जापानको निमन्त्रणामा जापानमा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी बन्नुभएको थियो । अध्यक्ष कमरेड प्रचण्ड आफ्नो भ्रमण टोलीसहित राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानमार्फत श्रावण २० गते राति जापान प्रस्थान गर्नुभएको थियो भने नेपाल एयरलाइन्सकै विमानमार्फत स्वदेश फर्किनुभएको छ ।
अध्यक्ष कमरेड प्रचण्डले जापान भ्रमणका क्रममा विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रममा सरिक हुनुका साथै कृषि, विज्ञान प्रविधि, पर्यटन प्रवर्द्धन, पुनर्निमाण र पूर्वाधार विकासमा क्षेत्रमा जापानले गरेका प्रगति र विकासको अभिरुचीपूर्वक अवलोकन गर्नुभयो ।
१. २०७९ श्रावण २१ गते (अगष्ट ६, २०२२) को बिहान जापानको टोकियोस्थित नारिता विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले आफू नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणा र कार्यक्रममा जापान आएको र जापान बसाइँको क्रममा जापानको विकास र समृद्धिलाई नजिकबाट अनुभूत गर्ने र केही राजनैतिक भेटघाटमा समेत सहभागी बन्ने बताउनुभयो । सोही दिन विमानमार्फत् फुकुओका पुगेको अध्यक्ष कमरेडले पहिलो कार्यक्रमको रुपमा जापानको फुकुओकामा गैरआवासीय नेपालीद्वारा आयोजना भएको नेपाल फेष्टिबल सेरेमोनीमा सहभागी बन्नुभयो र प्रमुख अतिथिका रुपमा समारोहको समुद्घाटन गर्नुभयो । सोही दिन अध्यक्ष कमरेडले जापानको एक प्रमुख व्यापारिक सहर ओशाका पुगी नेपाली समूदायका अगुवाहरुसँग भेटवार्ता एवं कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
२. २०७९ श्रावण २२ गते (अगष्ट ७, २०२२) का दिन बिहान अध्यक्ष कमरेडले दोस्रो विश्व युद्धमा आणविक बमले ध्वस्त पारिएको हिरोसिमा सहरमा अवस्थित शान्ति स्मृति संग्रहालयको अवलोकन गर्नुका साथै युद्ध पछिको पुनर्निर्माणका बारेमा जानकारी लिनुभयो । सोही दिन साँझ नेपाली जनप्रगतिशील मञ्च, जापानले टोकियोमा आयोजना गरिएको ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभयो ।
३. २०७९ श्रावण २३ गते (अगष्ट ८, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले साइतामा प्रान्तीय सरकारको कृषि व्यवसाय प्रवर्द्धन विभाग अन्तर्गतको कुरौसु अर्किड लिमिटेडको अर्किड नर्सरी अवलोकन गर्नुभयो । सो अवसरमा उहाँले कृषिलाई आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रिकिरण र व्यवसायीकरण गर्दै नेपाली अर्थतन्त्रलाई सबल बनाउन आवश्यक भएको बताउनुभयो । अध्यक्षले त्यसका लागि कृषिमा आधारित उद्योगहरुको प्रवर्द्धन र विकास गर्न जापानको वैज्ञानिक र आधुनिक प्रविधिको अनुशरण गर्न चाहेको बताउनुभयो । उक्त अवलोकन भ्रमणमा जापानका लागि नवनियुक्त नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको पनि उपस्थिति रहेको थियो ।
सोही दिन दिउँसो जापान भ्रमणमा रहनुभएका अध्यक्ष प्रचण्डले जापानी संसद ‘डायट’ को अवलोकन गर्नुका साथै जापानी संसदीय प्रणालीको विशेषता र राजनीतिक दलहरुको स्थितिको जानकारी लिनुभयो । ‘डायट’ मा सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता तथा सांसद सदस्य मासाकी तायराले अध्यक्ष कमरेडको स्वागत गर्नुको साथै संसदको अवलोकन गराउनुभयो ।
सोही दिन बेलुका अध्यक्ष कमरेडले नेपाली जनप्रगतिशील मञ्च, जापानका अगुवा कार्यकर्ताहरुसँग छलफल तथा अन्तरसम्वाद गर्नुभयो । अध्यक्ष प्रचण्डले प्रवासी नेपालीहरुको श्रम, सीप र पुँजीलाई देश निर्माणमा खर्चिन सरकार एवं पार्टीको तर्फबाट आवश्यक वातावरण निर्माण गरिने बताउँदै त्यसको लागि तयार रहन आव्हान गर्नुभयो ।
४. २०७९ श्रावण २४ गते (अगष्ट ९, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले नेशनल इन्स्टिच्यूट अफ इम्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी को अवलोकन भ्रमण गर्नुभयो । जापान सरकारको पूर्ण स्वामित्वमा रहेको उक्त अनुसन्धान केन्द्रको भ्रमणको क्रममा अध्यक्ष कमरेडले विभिन्न विद्याका विषयविज्ञ, डाक्टरहरु तथा अनुसन्धानकर्ताहरुको टिमबाट जापान सरकारले विज्ञान प्रविधि र सूचना प्रविधिका क्षेत्रमा गरेको अत्याधुनिक विकासको बारेमा जानकारी लिनुका साथै दुई देशका बीचमा विकसित प्रविधिको आदानप्रदानका विषयमा छलफल पनि गर्नुभयो । सोही दिन दिउँसो नेपाली समुदायद्वारा राजधानी टोकियोमा सञ्चालित नेपाली विद्यालयहरु एभरेष्ट इन्टरनेशनल स्कूल र हिमालय इन्टरनेशनल स्कूलका कार्यक्रममा सहभागी हुनुभयो । नेपाली समुदायले विदेशमा रहेर पनि शिक्षाको माध्यमबाट नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्नुको साथै नयाँ पुस्तालाई नेपालको राष्ट्रिय भावना जागृत गर्न योगदान गरेको भन्दै प्रशंसा गर्नुभयो ।
सोही दिन अपरान्ह ४ बजे अध्यक्ष कमरेड प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका पूर्वमहासचिव, वरिष्ठ नेता, पूर्वअर्थ, व्यापार र उद्योगमन्त्री संसद सदस्य एवं नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइबीच एलडिपि हेडक्वाटर टोकियोमा भेटवार्ता भयो । प्रतिनिधि मण्डल स्तरीय भेटवार्ताका क्रममा दुई देशबीचको आवसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्ने, जनस्तरको सम्बन्धलाई विस्तार गर्ने, स्थानीय सरकार र नगरहरुको बीचमा भगिनी सम्बन्ध स्थापना गर्ने, नेपालको कृषि, पर्यटन, जलविद्युत, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा जापान सरकारको सहयोगलाई अझ विस्तार गर्दै जाने लगायतका विषयमा छलफल भएको थियो ।
उक्त भेटवार्ताले नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन र दुई देश बीचको राजनीतिक तथा कूटनैतिक तहमा हुने संवादलाई विकसित गर्न मद्धत पुर्याएको छ । उक्त भेटवार्तामा नेता निकाईले अरु थप ३ जना साँसद सदस्यहरुको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो भने अध्यक्ष कमरेड प्रचण्डको प्रनितिधिमण्डलमा जापानका लागि नवनियुक्ति नेपाली राजदूत दुर्गाबहादुर सुवेदी पनि सहभागी बन्नुभएको थियो ।
साँझ टोकियोस्थित नेपाली दूतावासले उहाँको सम्मानमा आयोजित रात्रीभोजमा सरिक भई जापानका राजनीतिक नेताहरु, कूूटनीतिज्ञहरु, प्रशासकहरु र समाजका विभिन्न क्षेत्रका अगुुवाहरु, नेपाली समूदायका अगुवा प्रतिनिधिहरु सम्मिलित कार्यक्रमलाई सम्बोधन गर्नुभयो । नेपाल र जापान बीचको ऐतिहासिक एवं सांस्कृतिक सम्बन्धको चर्चा गर्दै भूकम्प पछिको पुनर्निर्माण, कोभिड नियन्त्रण लगायत नेपालको विकासमा जापानले गरेको सहयोग प्रति आभार प्रकट गर्नुभयो । र, आगामी दिनमा नेपालका प्राथमिकतामा जापान सरकारको सहयोगका लागि आव्हान गर्नुभयो ।
सोही दिन राति नेपाली समुदायका र जापानी पत्रकार समेतको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष कमरेड सहभागी हुुनुभयो । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै अध्यक्ष कमरेडले आफ्नो जापान भ्रमणबाट सन्तुष्ट भएको, भ्रमण सफल रहेको र आफुुले जापानबाट केही सिकाई र उर्जा लिएर फर्किन थालेको बताउनु भयो ।
५. २०७९ श्रावण २५ गते (अगष्ट १०, २०२२) का दिन बिहान अध्यक्ष कमरेड प्रचण्डले टोकियोस्थित नेपाली दूतावासको अवलोकन गर्नुभयो । सो क्रममा राजदूत दुर्गाबहादुर सुुबेदीले दूतावासले गरिरहेका कामको चर्चा गर्दै जनसेवाका लागि स्थान तथा जनशक्ति अभाव जस्ता दूतावासले भोगिरहेका समस्याहरु बारे जानकारी गराउनुभयो । पूर्व प्रधानमन्त्री तथा सत्तारुढ दलको प्रमुख नेता हुनुको नाताले समस्या समाधानको लागि आशावादी रहेको निवेदन गर्नुभयो भने अध्यक्ष कमरेडले जापानमा बस्ने नेपालीहरुको समस्या समाधानमा तदारुकताका साथ लागिपर्न निर्देशन गर्दै आफू काठमाडौं फर्किएपछि प्रधानमन्त्री तथा सम्बन्धित विभागीय मन्त्रीसँग समस्या समाधानका निम्ति छलफल गर्ने बताउनुभयो ।
अध्यक्ष कमरेड प्रचण्ड आफ्नो पाँच दिने जापान भ्रमण सफलतापूर्वक पुरा गरी स्वदेश फर्किनुभएको छ । भ्रमण सफलताका लागि सहयोग पुर्याउनु हुने हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा शुुभेच्छुकहरु, लिवरल डेमोक्रेटिक पार्टी जापान तथा जापानका राजनैतिक दलका माननीयज्यूहरु, नेपाल सरकारको राजनैतिक तथा प्रशासनिक नेतृत्व, परराष्ट्र मन्त्रालय, जापानका लागि नेपाली राजदुत तथा दुुतावास परिवार, नेपाली जनप्रगतिशील मञ्च जापानका सम्पुणर् नेता कार्यकर्ता साथीहरु, जापानमा रहनुहुने सम्पूर्ण नेपाली समुदायका अगुवा तथा शुुभेच्छुकहरु, नेपाल, जापान तथा विश्वभर रहेर खवर संप्रेषण गर्ने पत्रकार मित्रहरु, नेपाल र नेपालीको भलाई चाहने मित्रहरु तथा सम्पूर्ण देशभक्त नेपाली दिदीबहीनी तथा दाजुभाइहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।
अध्यक्ष कमरेड प्रचण्डको सचिवालय
प्रतिक्रिया