एन्फा कार्यसमिति बैठक आज

काठमाडौँ । दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बिहीबार बस्दै छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरू हुनेछ ।

यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

यस्तै, ५ साउनमा बसेको बैठक पनि स्थगित भएको थियो । पछिल्लो समय पदाधिकारी भागबन्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ ।

६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका नेम्वाङ आफ्नो चुनावी अभियानमा सहयोग गरेका साथीहरूलाई खुसी राख्न असफल भएका छन् ।

आफू अनुकुल महासचिव, कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नियुक्त गरेपछि नेम्वाङले चुनावी सहयोगी थापा समूहलाई पाखा लगाउँदै आएका छन् ।

चुनावमा सहयोग गरेका पूर्वअध्यक्ष गणेश थापा र जर्मन नागरिक नवीन पाण्डेबीच बढ्दै गएको असन्तुष्टिका कारण पंकज चेपुवामा परेका छन् ।

पाण्डेबाट बढी दबाब खेप्दै आएपछि नेम्वाङले थापा समूहलाई बेवास्ता गर्दै आएका छन् । पाण्डे एन्फा राजनीतिमा हावी भएसँगै कार्यसमितिमा बहुमत भएको थापा पक्षले पाण्डेको बर्खास्तीको माग गरेको छ ।

जसका कारण १९ मध्ये १३ सदस्यले हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय विभाग प्रमुख पाण्डेको बर्खास्ती माग गरेका छन् । आजको बैठकमा सबैको ध्यान यसैमा हुने छ ।

यस्तै, प्रवक्तासहित तीन सहमहासचिव, मानार्थ अध्यक्षको नियुक्त हुने छ । यस्तै, महिला साफ आयोजनासमेत मुख्य विषय रहेको छ । बैठकमा २२ एजेन्डा रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board