१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

काठमाडौं २५ साउन । आगामी मंसिर ४ गते संघीय निर्वाचन हुने भएपछि सत्तारुढ पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले आफू अनुकूलको गठबन्धन बनाउने कोशिश अघि बढाएका छन् ।

पाँच दलीय गठबन्धनले निर्वाचनका लागि सिट बाँडफाँट गर्न गत शुक्रबार ११ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलको पहिलो बैठकले कांग्रेस नेता कृष्ण सिटौलालाई संयोजक तोकेर सिटवांडफांडको गृहकार्य अघि बढाएको छ ।

कार्यदलमा सिटौलासँगै कग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्। नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल कार्यदलको सदस्य छन्। जनता समाजवादी पार्टी (जसपा) बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मालाई कार्यदलको सदस्य रहेका छन् ।

गठबन्धनका शीर्षनेताहरुले कार्यदललाई साउन महिनाभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन दिन निर्देशन दिएका छन् ।

दलहरु आशन्न संघीय र प्रादेशिक निर्वाचनका लागि सिट बाँडफाँट गर्न रातदिन आन्तरिक हिसाब–किताबमा व्यस्त छन्। सत्ताको नेतृत्व गरिरहेको कांग्रेस २०७४ को निर्वाचन र गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनलाई आधार बनाएर सिट बाँडफाँट गर्नुपर्ने पक्षमा देखिएको छ।

उमा नेकपा एमाले अझै पनि ०७४मा जस्तै वाम एकता हुने आशामा रहेको छ। एमालेका एक पदाधिकारीका अनुसरा सम्भव भएसम्म पुनः वाच एकता गर्न के के गर्न सकिन्छ भनेर समग्र कोशिश जारी रहेको छ । माओवादीभित्र पनि कांग्रेससंगको गठबन्धनबाट धोका हुन सक्ने भन्दै याम एकताकै पक्षमा उभिनु पर्ने मत सेलाएको छैन । नेता वर्षमान पुन, शक्ति वस्नेत र नारायणकाजी श्रेष्ठ, दीनानाथ शर्मा, लिलामणि पोखरेल,देव गुरुंग लगायतका नेताहरु वाम एकताकै पक्षमा पैरवी गर्दै आएका छन् ।

०७४ को शक्ति सन्तुलन
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सीटमध्ये नेकपा एमालेले ८०, नेकपा माओवादी केन्द्रले ३७, नेपाली कांग्रेसले २३, तत्कालीन संघीय समाजवादी फोरमले ११, तत्कालीन राष्ट्रिय जनता पार्टीले १० र अन्य दलले ४ सिटमा जितेका थिए।

त्यो चुनावमा एमाले र माओवादीबीच गठबन्धन भएकाले दुबै दलले राम्रो नतिजा निकालेका थिए । त्यो चुनावमा एक्ला एक्लै लडेका भए र नेकाको हालत त्यति दयनीय हुने थिएन । तर पनि वाम गठबन्धनबाट अघि बढेको नेकपाको सरकार र पार्टी विघटन भएर अघिल्लो निर्वाचनको हरुवा दल यति बेला सत्ता रुढ बन्न पुगेको छ ।

स्थानीय चुनावको २०७९ को अवस्था
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध माओवादी र कांग्रेसबीच गठबन्धन भएको थियो । स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा प्रतिनिधिसभामा कांग्रेस र एमालेको शक्ति करिब करिव उस्तै जस्तो देखिएको छ ।

निर्वाचन आयोगको अन्तिम मत परिणामअनुसार वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा कांग्रेस ७६ र एमाले ७० निर्वाचन क्षेत्रमा अगाडि देखिएको छ। माओवादी केन्द्र १०, जनता समाजवादी पार्टी (जसपा) ५ र नेकपा एकीकृत समाजवादी १ निर्वाचन क्षेत्रमा मात्रै अगाडि देखिएका छन्।तर स्थानीय निर्वाचनको मत र मतदान रुझान उही रुपमा संघीय निर्वाचनमा ट्रान्सफर हुन सक्दैन । तर रुझान करिब करिब उस्तै बन्न सक्छ । जे भएपनि आगामी निर्वाचनमा माओवादी केन्द्र जोसंग गठबन्धनमा जान्छ उही गठबन्धन विजयी हुने र एक्लै रहने नेका वा एमाले मध्ये एक दल नराम्रो संग पराजित हुने दृश्य भने स्पष्ट भएको छ ।

वडाअध्यक्षको मतका आधारमा कांग्रेसको अग्रता देखिएका निर्वाचन क्षेत्र :
अछाम–१, अछाम–२, इलाम–२, ओखलढुंगा, कञ्चनपुर–२, कञ्चनपुर–३, कपिलवस्तु–१, कपिलवस्तु–२, काठमाडौँ–१, काठमाडौँ–३, काठमाडौँ–६, काठमाडौँ–७, काठमाडौँ–८, काठमाडौँ–९, काठमाडौँ–१०, काभ्रे–१, कास्की–१, कैलाली–३, कैलाली–४, कैलाली–५, गोरखा–१, जुम्ला, झापा–३, डडेल्धुरा, डोटी, तनहँ–१, दाङ–१, दैलेख–१, धनुषा–१, धनुषा–२, धनुषा–३, धनुषा–४, धादिङ–२, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)–१, नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम०–२, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)–१, नुवाकोट–१, नुवाकोट–२, पर्सा–२, पर्सा–३, पर्सा–४, बर्दिया–२, बाँके–१, बाँके–२, बाँके–३, बारा–१, बारा–२, भक्तपुर–२, महोत्तरी–४, मोरङ–५, मोरङ–६, रसुवा, रामेछाप, रुपन्देही–१, रुपन्देही–२, रुपन्देही–३, रौतहट–२, रौतहट–४, ललितपुर–१, ललितपुर–२, ललितपुर–३, सप्तरी–१, सप्तरी–४, सर्लाही–१, सर्लाही–२, सर्लाही–४, सिन्धुपाल्चोक–१, सिनधुली–१, सिरहा–१, सुनसरी–१, सुनसरी–४, सुर्खेत–१, सोलुखुम्बु, स्याङ्जा–१ र स्याङ्जा–२।

एमाले अगाडि देखिएका क्षेत्रहरु
अर्घाखाँची, इलाम–१, उदयपुर–१, उदयपुर–२, कञ्चनपुर–१, कपिलवस्तु–३, काठमाडौँ–२, काठमाडौँ–४, काठमाडौँ–५, काभ्रेपलाञ्चोक–२, कास्की–२, कास्की–३, कैलाली–२, खोटाङ, गुल्मी–१, गुल्मी–२, चितवन–१, चितवन–२, चितवन–३, जाजरकोट, झापा–१, झापा–२, झापा–४, झापा–५, तनहुँ–२, ताप्लेजुङ, तेह्रथुम, दाङ–२, दाङ–३, दार्चुला, दैलेख, धनकुटा, धादिङ–१, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)–२, पर्वत, पाँचथर, पाल्पा–१, पाल्पा–२, प्युठान, बझाङ, बर्दिया–१, बाग्लुङ–१, बाग्लुङ–२, बाजुरा, बारा–३, बारा–४, बैतडी, भोजपुर, मकवानपुर–१, मकवानपुर–२, मनाङ, मुगु, मुस्ताङ, मोरङ–१, मोरङ–२, मोरङ–३, मोरङ–४, म्याग्दी, रुपन्देही–५, रौतहट–३, लमजुङ, संखुवासभा, सर्लाही–३, सिन्धुपाल्चोक–२, सिन्धुली–२, सिरहा–३, सिरहा–४, सुनसरी–१, सुनसरी–४ र सुर्खेत–२

कांग्रेस अघि रहेका कमजोर क्षेत्र
नेकपा एमाले अछाम–१ मा १६१, इलाम–२ मा ४५१ र काठमाडौँ–१ मा ३५४ मतले कांग्रेसभन्दा पछाडि छ। त्यस्तै, काठमाडौँ–३ मा ९१९ र काठमाडौँ–९ मा ६३४ मतले मात्रै कांग्रेसभन्दा एमाले पछाडि देखिएको छ। त्यस्तै रसुवामा ७९९, ललितपुर–३ ८३७, सिन्धुली–१ मा ४६९ र स्याङ्जा–१ म ६६५ मतले एमालेलाई कांग्रेसले पछि पारेको छ।

एमााले अघि रहेका कमजोर क्षेत्र
इलाम–१ उदयपुर–१, कञ्चनपुर–१, काठमाडौँ–४, काभ्रेपलाञ्चोक–२, चितवन–३, तनहुँ–२, तेह्रथुम, मनाङ, मुगु, मुस्ताङ, मोरङ–१, मोरङ–३, रुपन्देही–५, सर्लाही–३ र सुर्खेत–२ एमालेको अग्रता रहेर पनि अलग अलग प्रतिस्पर्धा हुंदा जे पनि हुन क्ने क्षेत्र देखिएका छन् ।

नेपाली कांग्रेस इलाम–१ मा ४६१, उदयपुर–१ मा ८९५, कञ्चनपुर–१ म ४१ र काठमाडौँ–४ मा ७४४ मतले एमालेभन्दा पछाडि छ। काभ्रेपलाञ्चोक–२ मा ५८, चितवन–३ मा ४२८, तनहुँ–२ मा ३५६ र तेह्रथुममा ४०१ मतले मात्रै कांग्रेस एमालेभन्दा पछाडि देखिएको छ।

एमालेले मनाङमा ३८, मुगुमा ९४५, मुस्ताङमा ३७६, मोरङ–१ मा ९५३, मोरङ–३ मा ४९४, रुपन्देही–५ मा २५७, सर्लाही–३ मा ३३४ र सुर्खेत–२ मा ९२९ मतले कांग्रेसलाई पछि पारेको छ।

माओवादीबाट एमालेमा पुगेका टोपबहादुर रायमाझीको निर्वाचन क्षेत्र भने नेका र माके गठबन्धन हुंदा पनि एक्लै जित्न सक्ने अवस्थामा देखिएको छ ।

माओवादीको अग्रता देखिएका क्षेत्र : कालिकोट, गोरखा–२, डोल्पा, महोत्तरी, रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा र हुम्ला, सल्यान ।

जसपा अग्रता रहेका क्षेत्र : पर्सा–१, महोत्तरी–३, सप्तरी–२, सप्तरी–३ र सिरहा–२ ।

लोसपा : महोत्तरी–२ र रुपन्देही–४ मा स्थानीय चुनावको मतका आधारमा अन्य दलभन्दा केही अघि देखिएको छ । नेकपा एकीकृत समाजवादीले माधव कुमार नेपालको गृहजिल्ला रौतहट क्षेत्र नम्बर १ मा अघि देखिएको छ ।

नेमकिपाले भक्तपुर क्षेत्र नम्बर १ र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलाली–१ मा स्थानीय चुनावमा वडाध्यक्षको मतका आधारमा अघि देखिन्छ । भक्तपुरमा भने ससबै दल एकातिर हुंदा पनि नेमकिपा नै अघि देखिएको रोचक अवस्था देखिएको छ।
अहिले संसदमा रहेको राजमो एमाले र माके वा नेका र माके को सहयोग विना प्युठानमा भित निकाल्न सक्दैन ।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कांग्रेस ८० र एमाले ६५ निर्वाचन क्षेत्रहरुमा दोस्रो स्थानमा छन्।

माओवादी १०, जसपा ५, लोसपा २, एकीकृत समाजवादी र राप्रपा १–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा छन्।

एबीसी टेलिभिजन र नेपालपेजको स्थानीय निर्वाचन डाटा एनालाइसिस का आधारमा हेर्दा नेका र माके प्लसको गठबन्धन भएमा जम्मा १६५ मध्ये कम्तीमा १२५ स्थानमा जित निकाल्न सक्ने देखिएको छ । त्यसैगरी पुनः वाम गठबन्धन (एमाले र माके) भएमा १ सय ३० स्थान मा विजयी हुनसक्ने देखिन्छ । वाम गठबन्धन भएको अवस्थामा जसपा लोसपा र नेका बीचको सम्वन्ध कस्तो हुन्छ भन्ने अनुमान गर्न गाहो छ । त्यसैगरी एकीकृत समाजवादीको हैसियत के हुन्छ भन्ने कुरा निकै अप्ठेरो छ । बाम गठबन्धन भएमा एस र जसपा अस्तित्व संकटमा पर्न पनि सक्नेछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board