केन्द्रीय सदस्य राईले छाडे बाबुराम भट्टराईको साथ

खोटाङ । वैकल्पिक शिक्षाको अभियान्ता सूर्यबहादुर राईले डा.बाबुराम भट्टराईको साथ छाडेका छन् । डा.भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेको केही समयपछि राईले सो पार्टीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराई निकट राई नवगठित नेपाल समाजवादी पार्टीमा आवद्ध हुने अनुमान गरिएको थियो ।

भट्टराई जसपाबाट अलग हुनु अगाडि राई जसपाका केन्द्रीय सदस्य थिए । तर, उनले आइतबार सामाजिक सञ्जालमार्फत् नेपाल समाजवादी पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेका छन् । भट्टराईको साथ छाडेपनि समावेसी, सुशासन र समृद्धिको लागि वैकल्पिक राजनीतिको यात्रा भने जारी राख्ने राईले बताएका छन् ।

राईले वैकल्पिक शक्तिको उदयका लागि नयाँ सोचका साथ देशव्यापी अभियान सञ्चालन भइरहेको प्रतिक्रिया दिए । ‘नेपालको आर्थिक, सामाजिक अवस्था परिवर्तनको अभियानमा सामेल हुनुपर्छ भन्ने सोच आयो । यसै सोचका साथ उत्साहित भएर वैकल्पिक राजनीतिक यात्रा तय गरियो । यो यात्रामा वैकल्पिक राजनीतिको गन्तव्य ठिक ढंगले अगाडि बढेन । यस अभियानमा पनि वैचारिक तथा व्यवहारिक विचलन देखियो । वैकल्पिक सोच नै विघटनको दिशातिर उन्मुख भयो,’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर, मुलुकमा वैकल्पिक राजनीतिको आवश्यकता झनै बढेर गएको छ । अब यसै विचार र मुद्दाकै आधारमा अगाडि बग्ने निष्कर्षमा पुगेँ । हाम्रा मूल मुद्दाहरू समावेसी, सुशासन र समृद्धिका लागि वैकल्पिक राजनीति यात्राबाट कत्ति पनि विचलित भएको छैन ।’

राईले कृषिविज्ञ मदन राईसँगको सहकार्यमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शुभम फाउण्डेसनमार्फत् व्यवहारिक शिक्षाको अभ्यास गर्दै आएका छन् । कृषिविज्ञ राईले शनिबार नै डा.भट्टराईसँगको साथ छाडेको घोषणा गरिसकेका छन् । यस्तै, जसपाका नेता मोहन गुरुङले पनि राजनैतिक एजेण्डा कायम राख्नेगरी स्वतन्त्र भएको घोषणा गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board