सिट बाँडफाँड कार्यदलको पहिलो बैठक बस्दै

काठमाडौँ । सत्तारूढ गठबन्धनभित्र आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको बैठक बस्दै छ । बैठक सोमबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ ।

मंसिर ४ गतेलाई तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि साउन मसान्तभित्र सिट बाँडफाँडको खाकासहित सुझाव दिन गठित कार्यदलको पहिलो बैठक बस्न लागेको हो । बैठकमा गठबन्धको आधार र मापदण्डको विषयमा छलफल हुने छ ।

दलहरूले आवश्यक गृहकार्य नगरेकाले पहिलो बैठक औपचारिकतामा सीमित हुने कार्यदल सदस्यहरूले बताएका छन् । सिट संख्या दाबी गर्ने गरी दलहरूले ठोस छलफल गरिसकेका छैनन् । आधार र मापदण्ड तयार भएपछि सिट बाँडफाँडबारे दलहरूको तर्फबाट दाबी पेस हुने छ ।

गत शुक्रबार गठबन्धको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)बाट जनार्दन शर्मा र वर्षमान पुन, नेकपा (एकीकृत समाजवादी)बाट महासचिव वेदुराम भुसाल र प्रमेश हमाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रमक चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board