राष्ट्रपतिद्वारा पछिल्लो विश्व राजनीतिको असरबारे पूर्वपरराष्ट्रमन्त्रीसँग छलफल

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वपरराष्ट्रमन्त्रीहरूसँग समसामयिक विश्व राजनीति र त्यसले नेपालमा पार्न सक्ने असरबारे छलफल गरेकी छन् । शीतल निवासमा भएको छलफलमा पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे, डा.प्रकाशचन्द्र लोहनी, डा.रामशरण महत, प्रदीपकुमार ज्ञवाली र डा.प्रकाशशरण महत सहभागी थिए ।

रसिया–युक्रेन युद्धदेखि पछिल्लो समय विकसित ताइवान तनावलाई लिएर विश्व शक्तिहरू विभाजित भइरहँदा नेपालमा पनि त्यसको असर देखिएका बेला राष्ट्रपति भण्डारीले छलफल गरेकी हुन् ।

पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव ज्ञवालीका अनुसार बदलिँदो विश्व राजनीति तथा भूराजनीतिक चुनौतीले नेपालमा पार्नसक्ने असरबारे राष्ट्रपतिले चासो व्यक्त गरेका थिइन् । “अहिलेको पछिल्लो अन्तर्राष्ट्रिय परिस्थिति र त्यसले नेपाललाई पार्ने प्रभाव र त्यसमा दलहरूले के सोचिरहेका छन् भन्ने राष्ट्रपतिको जिज्ञासा थियो, हामीले हाम्रा अनुभव र आफूलाई लागेका कुरा बतायौँ,’ ज्ञवालीले भेटबारे भने ।

छलफलमा सहभागी पूर्वपरराष्ट्रमन्त्री डा.लोहनीले राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेको बताए । राष्ट्रपतिसँग आफूले पछिल्लो विश्व राजनीतिक परिस्थिति हेर्दा दोस्रो शीत युद्धको सुरूवात भइसकेको विश्लेषण सुनाएका बताए ।

उनले नेपालले यस्तो चुनौतीपूर्ण बेलामा आफ्नो सार्वभौमिकता र स्वतन्त्रताको सीमाभित्र रहेर तीन वटै शक्तिको विश्वास लिनुपर्नेमा नसकिरहेको बताएका थिए । शक्ति राष्ट्रहरू अमेरिका, चीन र भारतबीच नेपाल मामिलालाई लिएर भूराजनीतिक प्रतिस्पर्धा चलिरहेकालाई राष्ट्रपतिले विज्ञहरूसँग अर्थपूर्ण छलफल गरेकी हुन् ।

“नेपाल राज्य र नेपालका नेताहरूले हाम्रा स्वार्थहरूप्रति पनि संवेदनशील हुँदै तीन वटै शक्तिको विश्वास जित्न सक्नुपर्छ,” उनले राष्ट्रपतिसँगको भनाइबारे भने, “तर, त्यो चुनौती बीच विश्वास जित्ने काम अहिले भएको छैन । विश्वास गुमाउने कामहरू नै भइरहेका छन् भन्ने विश्लेषण मैले राष्ट्रपतिलार्य राखेँ ।”

डा.लोहनीले अहिलेको संकटपूणै अवस्थाबाट पार पाउन राजा वीरेन्द्रले राखेको शान्ति क्षेत्रको प्रस्ताव अघि बढाउँदा सान्दर्भिक हुने सुझाव पनि राष्ट्रपतिलाई दिएका छन् ।

लोहनीका अनुसार त्यसक्रममा राष्ट्रपति भण्डारीले विश्वमा विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे सबैसँग जिज्ञासा राखेकी थिइन् । “विश्वमा यस्तो भइरहेको छ, हाम्रो परराष्ट्र नीति सञ्चालन कस्तो छ ? कसरी विश्लेषण गरिरहनुभएको छ ? भनेर उहाँ (राष्ट्रपति)ले सोध्नुभयो,” उनले भने, “हामी सबै उहाँका जिज्ञासाबारे आफ्नो धारणा दियौँ ।”

पूर्वपरराष्ट्रमन्त्रीहरूले देखिएका भूराजनीतिक चुनौतीका सामना गर्न सन्तुलित र असंलग्न नीतिमा नेपालले जोड दिनुपर्ने धारणा राखेका थिए ।

संयुक्त रूपमा भेटेपछि राष्ट्रपति भण्डारीले पूर्वपरराष्ट्रमन्त्री पाण्डेसँग आधा घन्टा एक्लै भेटेकी थिइन् ।

करिब दुई घन्टा पूर्वपरराष्ट्रमन्त्रीहरूसँग राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय परिस्थिति र त्यसले नेपालमा पार्ने असरबारे छलफल गरेको प्रेस विज्ञ टीका ढकालले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board