माग सम्बोधन नभए भदौ १२ गतेदेखि सत्यग्रह बस्ने डा.केसीको घोषणा

काठमाडौँ । चिकित्सा शिक्षाका अभियन्ता डा.गोविन्द केसीले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न माग गरेका छन् । डा.केसीले शनिबार धरानबाट वक्तव्य जारी गर्दै चिकित्सा शिक्षातर्फ आफूले राखेका माग सम्बोधन नभए भदौ १२ गतेदेखि सत्याग्रह सुरू गर्ने घोषणा गरेका हुन् ।

उनले भने, “हामीले शेरबहादुर देउवा सरकार बने यता नै यी विषय निरन्तर उठाइरहँदा पनि कुनै सुनुवाइ नगरेका कारण हामी अब धैर्य गर्ने अवस्थामा छैनौँ । हाम्रा मागहरू आगामी तीन साताको अवधिमा पूरा नभएमा भदौ १२ गतेदेखि सत्याग्रह सुरू गर्ने घोषणा गर्दछौँ ।”

तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाउन माग गरेका छन् । त्यस्तै, जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गर्नुपर्ने डा.केसीको माग छ ।

संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क निषेध गरिनुपर्ने माग गरेका छन् ।

सरकारले तोकेको सूचीअनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरिनुपर्ने, स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था माग गरिएको छ ।

देशभरि दिगो स्वास्थ्य सेवा पुर्‍याउनका लागि ठुलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरूको नियुक्ति गरिनुपर्ने डा.केसीको माग छ । आवश्यक कानुनी व्यवस्था गरी गेटा मेडिकल कलेजलाई तत्काल सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने डा.केसीको माग छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति