ओलीको टिप्पणी : देउवाको गन्तव्य मेडम साहेव, प्रचण्डको सुपुत्री, माधव गन्तव्यहीन

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको टिप्पणी गरेका छन् । सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरेका हुन् ।

नेकपा (एमाले)को उपत्यका विशेष प्रदेश कमिटी रणनीतिक कार्यशाला गोष्ठीमा ओलीले सबैको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै उनले शीर्ष नेताहरूप्रति कटाक्ष गरे । उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने भने देश ध्वस्त हुने आरोप लगाए ।

‘मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । विचरा ! माधव नेपालको त नाउँ नलिऊँ होला उहाँको जिन्दगी त छटपटीमै बित्छ । करबते बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भने ।

ओलीले एमालेलाई पाँच वर्ष प्रतिपक्षमा बस्न कुनै गाह्रो नभएको बताए । उनले भने, ‘हामीलाई पाँच वर्ष प्रतिपक्षमा बस्न गाह्रो होइन, तर एमालेले हार्दा देश हार्छ । त्यसैले जित्नैपर्ने दायित्व छ ।’

अध्यक्ष ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध कांग्रेस, माओवादी केन्द्रसहितका सांसद्ले ६ महिनाअघि संसद् सचिवालयमा दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेकामा सत्तारूढ दलप्रति आक्रोश व्यक्त गरे ।

पास नहुने महाअभियोग प्रस्ताव ल्याएर जबरालाई डामेर छाड्न खोजेको भन्दै अध्यक्ष ओलीले भने, ‘महाअभियोग प्रस्तावको छिनोफानो गर्नुपर्दैन ? महाअभियोग पास नहुने भएपछि डामेर छाड्न मिल्छ ? ६ महिनादेखि अलपत्र छ । छलफल हुन्छ प्रस्ताव अघि बढ्दैन ।’

संसद् बैठकमा महाअभियोग प्रस्तावलाई टेबुल नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटा सरकारको खेलौनाजस्तो भएको ओलीले बताए ।

उनले इतिहासमै अहिलेजस्तो राज्य संयन्त्रको दुरूपयोग कहिले नभएको पनि दाबी गरे । कानुन नभएको शासनजस्तो अहिलेको सरकार रहेको ओलीले बताए । ‘राज्यसत्ताको यो भन्दा नग्न दुरूपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति साह्रो खेलवाड ?’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board