अमेरिका र चीनकाे जुधाईमा ताइवान परे मिचाईमा

काठमाडाै, २० साउन । अमेरिका र चीनकाे जुधाईमा ताइवान मिचाईमा परेकाे छ । विवादको पछिल्लो कारक बनेको न्यान्सी पेलोसीको भ्रमणले ताइवानी जनतालाई अनावश्यक तनावमा पारेको हाे ।

अमेरिकी संसद् (हाउस अफ रिप्रिजेन्टिभ) की प्रमुख न्यान्सी पेलोसी ताइवानबाट फर्के लगत्तै चीनले समुद्री क्षेत्रमा मिसाइल प्रहार गरेको बीबीसीले जनाएको छ। पेलोसी  सोमबार ताइवान पुगेकी थिइन्। उनले राष्ट्रपति साई लिङ-वेनसँग भेटवार्ता गरेकी थिइन्।

अपर्झट र औपचारिक अनुमोदन विनाको पेलोसीको भ्रमणले चीन र ताइवानबीच तनाव उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसले युद्धको रुप लिनसक्ने आकलन गर्न थालिएको छ।

२५ वर्षपछि अमेरिकी उच्च पदाधिकारीको ताइवान भ्रमण भएको हो। यसअघि नै चीनका राष्ट्रपति सि चिनफिङले ताइवानको भ्रमण नगर्न अमेरिकालाई चेतावनी दिएका थिए। उनले यस विषयमा अमेरिकी समकक्षी जो बाइडनसँग पनि दुई घण्टा लामो कुराकानी गरेका थिए। बाइडेनले पनि पेलोसीलाई ताइवानको भ्रमण नगर्न आग्रह गरेका थिए। चीनले ‘आगोसँग नखेल्न’ दिएको चेतावनीको बावजुद पेलोसीको भ्रमण रोकिएन। 

पेलोसीले एकरात ताइपेइमा बिताएकी थिइन्। जबकी भ्रमण तालिकामा ताइवान जाने कार्यक्रममै थिएन। उनी ताइपेइबाट दक्षिण कोरियाका लागि उडेसँगै चीनले सैन्य गतिविधि शुरू गरेको हो। त्यहि क्रममा चीनले प्रहार गरेका लामो दूरीका रकेट ताइवानको मत्सु, युक्यु, डोन्जिन नजिक खसेको सीएनएनले जनाएको छ। यी क्षेत्र ताइवानको मुख्य टापू नजिक पर्छन्। ताइवानले पनि चीनका गतिविधि नियाल्न मिसाइल र नौसेना जहाज तैनाथ गरेको छ।

वर्षौदेखि चीनले ताइवानलाई आफ्नो टुक्रिएको भूभागको रुपमा लिँदै आएको छ भने ताइवान आफूलाई स्वतन्त्र राज्य ठान्छ। यी दुईको खटपट १७औं शताब्दीमै शुरू भएको थियो।

१७औं शताब्दीमा क्विङ राज्यले शासन गर्दा ताइवान टापु पूर्णरुपमा चीनको अधिनमा थियो। पहिलो चीन-जापान युद्ध (सन् १८९४-९५) हारेपछि यो भूमी जापानको अधिनमा पुगेको थियो।

त्यसपछि दोस्रो चीन-जापान युद्ध (सन् १९३७-४५) मा जापान हार्‍यो। फलस्वरुप यो टापु चीनको अधिनमा फर्कियो। तर, चीनभित्रै गृहयुद्ध शुरू भयो। नेस्नालिस्ट सरकारलाई अगुवाई गर्ने चियाङ काई-सेक र कम्यिुनिष्ट पार्टीको नेतृत्व गर्ने माओत्से तुङबीच गृहयुद्ध चल्यो। सन् १९४९ मा कम्यिुनिष्ट पार्टीले बेइजिङलाई नियन्त्रणमा लियो।

त्यसपछि चियाङ काई-सेक र नेस्नालिष्ट पार्टी (क्वोमिङताङ) का नेता भागेर ताइवान पसे, जहाँ उनीहरुले कयौं दशक शासन गरे। चीनले यो इतिहासलाई देखाउँदै ताइवान शुरूदेखि नै चीनको भूभाग रहेको दाबी गर्दै आएको छ। तर, ताइवानी भने आधुनिक चीनको भाग ताइवान होइन भन्दै आएका छन्। त्यस समयदेखि नै क्वोमिङताङ ताइवानको प्रमुख राजनीतिक पार्टीका रुपमा शासन गरिरहेको छ।

हाल ताइवानलाई १३ वटा देशले मात्र स्वाधीन राष्ट्रका रुपमा मानेका छन्। अमेरिकाले पनि औपचारिक रुपमा ताइवानको स्वायत्ततालाई स्विकारेको छैन। सन् १९७० को दशकदेखि ‘एक चीन नीति’ मान्ने अमेरिकी नीति छ। कयौं देशहरूले ताइपेइ नभइ बेजिङमार्फत नै कूटनीतिक सम्बन्ध राखेका छन्।

पेलोसीले ताइवान पुग्नुको मुख्य उद्देश्य ताइवानको स्वतन्त्रता र प्रजातन्त्रलाई सुरक्षित गर्न मद्दत गर्नु रहेको बताएकी छन्। अमेरिकी राष्ट्रपति बाइडनले पनि केही समयअघि अमेरिकाले ताइवानको सुरक्षा गर्ने बताएका थिए। पेलोसीले पनि ताइवानी राष्ट्रपति साई लिङ-वेनलाई भेटेर अमेरिका आफ्नो प्रणबाट पछि नहट्ने बचन दिएकी छन्।

पेलोसीले ताइवानको संसद्लाई सम्बोधन गर्दै भनिन्, “आज संसारले प्रजातन्त्र र निरंकुशताबीचको छनोटको सामना गरिरहेको छ। यहाँ ताइवान र विश्वभर लोकतन्त्र जोगाउने अमेरिकाको दृढ संकल्प रहिरहन्छ।”

ताइवानी राष्ट्रपति लिङ-वेनले पनि आफ्नो देशले कयौं वर्षदेखि चीनको डर र धम्की भोग्दै आएको बताएकी छन्। उनले भनेकी छन्, “जानाजानी बढाइएको सैन्य धम्कीको सामना गर्दै ताइवान पछि हट्ने छैन। हामी हाम्रो राष्ट्रको सार्वभौमसत्तालाई दृढतापूर्वक कायम राख्नेछौं र प्रजातन्त्रको रक्षाको लाइनलाई निरन्तरता दिनेछौं।”

अमेरिकी उच्च पदाधिकारी ताइवान पुग्नुलाई ताइवानको स्वतन्त्रताको लागि अमेरिकाको समर्थन रहेको चीनको बुझाइ छ। चीनका परराष्ट्रमन्त्री वाङ लीले प्रेस ब्रिफिङमा पेलोसीले ताइवानमा गएर चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई गम्भीर रूपमा कमजोर पार्ने, चीन-अमेरिका सम्बन्धको जगमा गम्भीर असर पार्ने र ताइवानको स्वतन्त्रता सेनालाई गम्भीर रूपमा गलत संकेत पठाउने काम गरेको बताए।

लीले चीन-अमेरिकाको सम्बन्धमा समस्या निम्त्याउने काम अमेरिकी राजनीतिज्ञहरूले गरेको पुष्टि भएको र ताइवान तथा क्षेत्रीय स्थिरताको ठूलो विनाशक रहेको बताएका छन्।

त्यस्तै, न्युजिल्यान्डमा बसेर काम गरिसकेका ताइवानी कूटनीतज्ञ डेल जीय वेन चेले एउटा टेलिभिजन अन्तर्वार्तामा पेलोसीले युद्ध भड्काउन आएको आरोप लगाएका छन्। उनको भाइरल भएको उक्त भिडियोमा भनेका छन्, “चीन र ताइवानबीच उसै त तनाव भइरहेको वेलामा पेलोसीको आगमनले झन् तनाव सिर्जना गरेको छ। हामीलाई उनको कुनै समर्थनको आवश्यकता छैन। बलेको आगोमा घिउ थप्ने होइन, केही नभएको ठाउँमा आगो सल्काउने काम गरेकी छन्। अमेरिका ताइवानी मानिसहरु आर्मीमा भर्ती हुन् र उनीहरूसँग हतियार खरीद गरोस् भन्ने चाहन्छ। यो तिम्रो सरोकारको विषय होइन।”

युद्ध भएमा ताइवान अप्ठ्यारोमा पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विश्लेषण गरेका छन्। सुरक्षाका लागि अमेरिकापछि सबैभन्दा बढि खर्च गर्न सक्ने राष्ट्र चीनले ताइवानमाथि सैन्य शक्तिदेखि मिसाइल प्रविधि, हवाईजहाज, नौसेना तथा साइबर आक्रमण पनि गर्नसक्ने अनुमान गरिएको छ।  

सञ्चारमाध्यमहरूका अनुसार चीनसँग पाँच हजार चार सय ट्यांक छन् भने ताइवानसँग ६५० मात्र ट्यांक छन्। त्यस्तै चीनसँग तीन हजार २७७ भन्दा बढि हवाइजहाज, ५९ सबमराइन, ८६ नौसेना जहाज, नौ हजार ८३४ भन्दा बढि आर्टिलरी छन्। यसको तुलनामा ताइवानसँग मात्र ५०४ हवाईजहाज, चार वटा सबमराइन, २६ नौसेना जहाज र दुई हजार ९३ आर्टिलरी छन्।
त्यस्तै, चीनसँग स्थलसेना ९६ लाख पाँच हजार, नौसेना दुई लाख ६० हजार, वायुसेना तीन लाख ९५ हजार र रिजर्भमा पाँच लाख १० हजार सेना छन्।

जबकी ताइवानसँग भने ९४ हजार स्थलसेना, ४० हजार नौसेना, ३५ हजार वायुसेना र १६ लाख ५७ हजार मात्रै रिजर्भ सेना छन्।

ताइवान अर्थतन्त्रका लागि निकै महत्वपूर्ण छ। विश्वभरका अधिकांश  इलेक्ट्रोनिक सामानहरू फोन, ल्यापटप, घडी तथा खेल सामग्री ताइवानबाटै आउँछन्। ताइवानले सबैभन्दा बढि कम्प्युटरमा राख्ने चिप्सको निर्यात गर्छ। ताइवानको एउटा कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याकचरिङ कम्पनीले विश्वकै आधा बजार धानेको जनाइएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board