सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा लेख्न बारको माग

काठमाडाैँ । नेपाल बार एशोसिएशनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि)मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ ।

बारका महासचिव अधिवक्ता अञ्जिता खनालले गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्वर्द्धन गर्ने गराउने कार्यमा लाग्नका लागि उक्त व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको छ ।

‘यातायात व्यवस्था विभागबाट सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकूल छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसात गरेको भाषालाई प्रतिस्थापन गर्ने गरी प्रत्यक्ष वा परोक्षरुपमा कुनै पनि कार्य गर्न मिल्दैन ।’

नेपालको संविधानको धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन्’ भनिएको छ । संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने छ भनिएको छ । त्यस्तै, नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्नसक्ने उल्लेख छ ।

बारको कार्यसमिति बैठकले नेपाली नागरिकले सदियौँदेखि प्रयोग गरी आएको भाषा प्रयोग नगरी अन्य भाषा प्रयोग गरिनु भनेको नेपाली नागरिकको भाषासम्बन्धी संविधानले प्रत्याभूत गरेको संवैधानिक हकको हनन् भएको ठहर गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board