दक्षिण कोरियाका राष्ट्रपतिले मानेनन् पेलोसीलाई भेट्न

साउन १९ , सोल । दक्षिण कोरियाली राष्ट्रपति युन सक योलले अमेरिकी सभामुख न्यान्सी पेलोसीसँग भेट्न अस्वीकार गरेका छन्। ताइवानको विवादास्पद भ्रमणपछि सोल आइपुगेकी पेलोसीलाई राष्ट्रपति युनले भेट्न नमानेका हुन्।

पेलोसीको एसिया भ्रमणमा उनलाई नभेट्ने एक मात्र शीर्ष नेता बनेका छन् युन। पेलोसीको ताइवान भ्रमणले सो क्षेत्रमा तनाव सिर्जना गरेको छ।

सन् २०१५ पेलोसी कोरिया आउँदा उनले तत्कालीन राष्ट्रपति पार्क गुन हे र विदेशमन्त्रीसँग भेटेकी थिइन्।

तर, यसपटक राष्ट्रपति युनको कार्यालयले उनी छुट्टीमा भएकाले पेलोसीसँग भेट्न असमर्थ रहेको जानकारी गराएको छ।

जबकि, युन सोलस्थित घरमै रहेको बताइएको छ। उनले पेलोसीसँग बिहीबार दिउँसो फोनमा कुराकानी गरेका थिए।

बुधबार साँझ पेलोसी सोल आइपुग्दा राष्ट्रपति युन थिएटरमा थिए। त्यसपछि उनले केही कलाकारसँग रात्रिभोज गरे।

दक्षिण कोरियाली विदेशमन्त्री पार्क जिन पनि आसियान बैठकका लागि कम्बोडियामा छन्। जसका कारण पेलोसीले उनलाई भेट्न पाएनन्।

युनले मे महिनामा राष्ट्रपतिको कार्यभार सम्हालेका थिए। निर्वाचित हुँदा पूर्ववर्ती मुन जे इनभन्दा युन चीनप्रति आक्रामक मानिन्थे। तर, उनको प्रशासन पछिल्लो समय चीनको चर्को दबाबमा पर्दै आएको छ।

दक्षिण कोरियाका कतिपय नेताहरुले भने युनले पेलोसीलाई नभेट्दा गलत सन्देश गएको भन्दै सन्तुष्टि पोखेका छन्।

पेलोसीको भ्रमणपछि ताइवानवरिपरि चीनले अहिलेसम्मकै ठूलो सैन्य अभ्यास थालेको छ।

पेलोसीले ताइवानमा राष्ट्रपति साइ यिङ वेनसँग भेटेकी थिइन्। त्यसअघि सिंगापुरका प्रधानमन्त्री ली सिन लुङसँग भेटेकी थिइन्। भ्रमणको अन्तिम विन्दु जापानमा उनले प्रधानमन्त्री फुमियो किसिदासँग भेट्ने कार्यक्रम छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति