भुवन केसीलाई अन्तिम अवसर

– प्रदीप कार्की

भुवन केसी नेपाली फिल्मको सर्वोच्च संस्था मानिने चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन् । दोस्रोपटकको प्रयासमा नेपाली कांग्रेसको तर्फबाट बोर्ड अध्यक्ष बन्ने सपना उनले पूरा गरेका हुन् । 

गत २० वैशाखमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस प्रवेश गरेपछि उनी बोर्ड अध्यक्ष बन्नेछन् भन्ने चर्चा फिल्मनगरीमा चलेको थियो । बोर्ड अध्यक्ष बन्ने सर्तमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग मौखिक सहमतिमै उनी कांग्रेस प्रवेश गरेका थिए । उनीबाहेक अन्य १० जनाको अन्तर्वार्ता लिइए पनि कसैलाई सर्ट लिस्ट नै नगरी मनोनयन गरियो । मन्त्रिपरिषद् बैठकले भुवनलाई बोर्ड अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेपछि मातहतको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नियुक्ति दिएको हो । 

केसीलाई प्रदेश सभामा लैजाने चर्चा पनि नचलेको होइन । यद्यपि नेताहरूका लागि उनलाई दिन उपयुक्त पद बोर्ड अध्यक्ष नै भएपछि मोटामोटी सहमति गरेर आवेदन दिन लगाइएको हो । चलचित्र क्षेत्रलाई नेपाल सरकारले सम्बोधन गर्ने कार्यकारी निकायको चाबी पाएका केसीले आउँदो दुई वर्षमा के गर्लान् ? हेर्न बाँकी छ । उनको नियुक्तिसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया छ । 

राजनीतिमा भुवन 

भुवन केसी नेपाली फिल्ममा सफल मानिन्छन् । उनले अभिनयसँगै निर्माण र निर्देशनमा पनि आफूलाई सफल बनाए । पछिल्लो समय अभिनयमा सफल हुन नसकेपछि छोरा अनमोल केसीलाई लिएर उनले फिल्म निर्माण गर्दै आएका छन् । भुवन फिल्ममा सफल भए पनि राजनीतिमा भने जम्न सकेनन् । उनले एमालेबाट संविधानसभाको निर्वाचनका लागि पाएको टिकेटसमेत अन्तिममा फिर्ता गर्नुपरेको थियो । 

पार्टीमा माधवकुमार नेपाल निकट मानिएका भुवनले केपी ओली सत्ता र पार्टीको अध्यक्षमा आएपछि लाभको पद लिने प्रयास नगरेका होइनन् । उनले अध्यक्ष बन्न अगाडि पनि प्रयास गरे । यद्यपि पार्वत गुरुङ सञ्चारमन्त्री रहँदा उनको त्यो सपना पूरा भएन । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको सिफारिसमा उनकै क्षेत्रका दयाराम दाहाल बोर्ड अध्यक्ष बने । 
त्यसपछि असन्तुष्ट बनेका भुवनलाई नेपाली कांग्रेसमा समाजसेवी अनुराधा कोइरालाले ल्याएकी हुन् । उनले नै सभापति देउवासँग कुरा गरेर भुवनलाई बालुवाटारसम्म पु¥याएकी थिइन् । भुवनको कांग्रेस प्रवेशमा नीर शाह पनि थिए । यद्यपि उनको भूमिका स्पष्ट छैन । किनकि बोर्ड नियुक्तिका लागि उनले अन्यलाई पनि सहयोग गर्ने बचन दिएका थिए ।

जे होस् भुवन यसपटक राजनीतिमा सफल भए । कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँको सहयोगमा उनी बोर्डको बलियो उम्मेदवार बन्न पुगे । आफ्नो स्टारडमको प्रयोग गर्दै अन्यभन्दा आफूलाई बलियो उम्मेदवार बनाए । बोर्ड अध्यक्ष बन्ने सुनिश्चित भएपछि मात्र उनले आवेदन दिएका थिए । नेपाली फिल्ममा ‘अवसरवादी’ चरित्रका मानिने भुवनले आउँदो दिनमा राजनीतिलाई कसरी अगाडि बढाउने छन् ? यो हेर्न बाँकी छ । उमेरले साढे ६ दशक पुग्न लागेका भुवनले पाउने कार्यकारी पद भनेको यही हो । अब उनले राजनीतिबाट मात्र कार्यकारी पद हासिल गर्नसक्नेछ । नेपालमा ६५ वर्ष नाघेपछि सरकारी पदमा अवकाश पाउने भएकाले रिटायर्ड लाइफको संघारमा रहेका भुवनलाई असफल हुने छुट छैन ।

महानायक बन्ने अवसर

सिनेमासम्बन्धी कार्यक्रम चलाउने एक सञ्चारकर्मीले राजेश हमालले महानायकको उपाधि दिए । यसमा भुवन असतुष्ट रहेको कुरा लुकेको छैन । व्यावसायिक रूपमा सफल फिल्म दिएका भुवनले राजेश हमाललाई महानायकको रूपमा स्वीकारेका छैनन् । यद्यपि अहिले भुवन नेपाली फिल्मलाई नेपाल सरकारसँग जोड्ने सर्वोच्च संस्था चलचित्र विकास बोर्डको सर्वोच्च पदमा छन् । उनी दुई वर्ष अध्यक्षको चेयरमा रहनेछन् । उनको स्टारडम र अनुभवले फिल्मकर्मीको लागि हित गर्न सके उनी ‘महानायक’ बन्नेछन् । 

नेपाली फिल्ममा चार दशकको यात्रा तय गरेका भुवनले धेरै समस्यालाई समाधान गर्नु छ । उनले ड्राफ्टमै सीमित चलचित्र नीतिलाई पारित गराएर कार्यान्वयन गर्न सके अहिले नेपाली फिल्म र फिल्मकर्मीले झेलिरहेको धेरै समस्या समधान हुन् सक्छ । हलहरूमा जडान भएको बक्स अफिसको डाटासमेत फरक आइरहेको छ । वितरकले दिने र बक्स अफिसले दिने हिसाबमा किन फरक आइरहेको छ ? उनले यसलाई सुल्झाउनुपर्नेछ । 

निगरानी उपत्यकाभन्दा पनि मोफसलको तराईका हलहरूमा बढाउनु आवश्यक छ । नेपाली फिल्मको प्रदर्शनलाई लिएर बेलाबखतमा आवाज उठ्ने गरेका छन् । घरेलु बक्स अफिसमै नेपाली फिल्मको तुलनामा विदेशीले ग्राहयता पाउने गरेको गुनासो नौलो होइन । स्वयं उनकै छोरा अनमोल केसीले अभिनय गरेको पछिल्लो फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शनको समयमा भोगेको समस्यालाई उनले कसरी सुल्झाउँछन् ? त्यो हेर्न बाँकी छ । बढ्दो मेकिङ खर्च तर बजार विस्तार हुन नसक्दा पीडा झेलिरहेका निर्माताको उद्धारकर्ता उनी कसरी बन्नेछन् ? त्यो हेर्न बाँकी छ । 
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board