ऋण तिर्न बाँकी छ, मूल्य घट्दैन : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ ।

निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि नेपाल सरकारबाट लिएको ऋण र इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई बक्यौता भुक्तानी गर्नुपर्ने भएकाले मूल्य समायोजन नहुने जनाएको हो ।

आइओसीबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर ९ रुपैयाँ ३७ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । निगमलाई मट्टितेल र हवाई इन्धनमा भने यसअघि नै नाफा रहेको छ ।

पेट्रोलियम पदार्थको बिक्रीबाट मासिक एक अर्ब २७ करोड घाटा हुने निगमको प्रक्षेपण छ । सरकारसँग लिइएको ऋण, आइओसीलाई तिर्नुपर्ने बक्यौता तथा मासिक एक अर्ब बढी घाटा भएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत नै राख्नुपरेको उनले बताए ।

निगमले आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापत भुक्तानी गर्नुपर्ने रकम अपुग भएपछि सरकारसँग सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो । निगमले अझै आइओसीलाई २३ अर्ब भुक्तानी गर्न बाँकी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board