राजनीतिक खिचातानीले परिवर्तनशील वडा कार्यालयमा ताला

मुगु । छाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ को परिवर्तनशील वडा कार्यालयमा विगत २ हप्तादेखि ताला लागेको छ । राजनीतिक खिचातानीले गर्दा उक्त वडा कार्यालयमा ताला लागेको हो ।

वडा कार्यालयमा कर्मचारी राख्ने विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का जनप्रतिनिधिबीच एक आपसमा मनमुटाब हुँदा १२ नम्बर वडा कार्यालयमा ताला लागेको बताइएको हो ।

छाँयानाथ रारा नगरपालिकाले केहीदिन अगाडि एक सूचना जारी गर्दे करार कर्मचारीलाई हाजिरी नगर्न नगरपालिकाले निर्देशन दिएको थियो । उक्त निर्णयलाई मध्यनजर गर्दै एमालेबाट वडा अध्यक्षमा निर्वाचित आइतुराम रोकायाले करार कर्मचारी हाजिर नगर्न भनी वडा कार्यालयमा दुई हप्तादेखि ताला लगाएको बताए ।

उक्त वडामा नेकपा एमालेका वडा अध्यक्षसहित ३ जना र माओवादी केन्द्रका एक जना वडा सदस्य रहेका छन् । वडा अध्यक्षले करार कर्मचारीलाई हाजिर गर्न नदिइ आफू पायक कर्मचारी राख्न खोजेकाले त्यस्तो गर्ने नहुने र पुराना करार कर्मचारी भए पनि नगरपालिकाको आदेशअनुसार करार कर्मचारीलाई हाजिर गराइनु पर्ने आफ्नो माग भएकाले दोस्रो ताला आफूले लगाएको माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य रुनउदीप ऐडीले बताए ।

विशेष गरेर दुवै पक्षलाई निहाल्दा करार कर्मचारीको विषयमा निहुँ गरेता पनि राजनीतिक खिचातानीले यस्तो भएको पाइएको छ ।

यसभन्दा अघि तीन जना करार कर्मचारीले सेवा प्रवाह गरिरहेका थिए । नगरपालिकाले करार कर्मचारीलाई हाजिर नगर्ने सूचना जारी गरेपछि करार कर्मचारीलाई वडा अध्यक्षले हाजिर गर्न नदिएका कर्मचारी हंसलाल बुढाले बताए ।

वडा कार्यालयमा ताला लगाइएको र अहिले वडा अध्यक्षले आफ्नो नजिकका गोखबहादुर नेपालीलाई सहयोगी बनाइ सेवा प्रवाह गरिहरेका छन् । सेवा प्रवाह वडा कार्यालयबाट नभइ वडा अध्यक्षको घरबाट सदरमुकाम गमगढीको सम्पर्क कार्यालयबाट भइरहेको बताइएको छ । स्थानीय वडावासीका अनुसार राजनीतिक खिचातानी र दुई हप्तादेखि वडा कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । सामान्य वडा सिफारिस , नागरिकताको सिफारिस, योजनालगायत अन्य सिफारिस नपाएको स्थानीय आइतुसिहं कामीले बताए ।

यता छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामका अनुसार परिवर्तनशील वडा कार्यालयमा दुई हप्तादेखि ताला लगाएको बारेमा आफूलाई जानकारी नभएको र बुधबार स्वास्थ्य संस्था, वडा कार्यालयको छड्के अनुगमनमा जाँदा उक्त वडा कार्यालयमा दुई हप्तादेखि ताला लगाएको भेट्टाएको बताउँछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board