सप्तकोसीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा

चतरा । अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका–८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । बुधबार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् ।

नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

सोमबार बेलका नगरपालिकाले बस्ती छाड्न माइकिङ गरेकाले मानवीय क्षति नहुने आशा गरिएको र आफू घटनास्थल जाँदै गरेको उनले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरेको प्रजिअ यादवले जानकारी दिए । सप्तकोसी नदी फुटेको स्थानमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, सुरक्षा निकायका प्रमुख स्थलगत अवलोकन गर्न लागेको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बताए ।

‘कोसीको पूरै भंगालो पसेको छैन, बाढी ओभरफलो भएको हो,’ उनले भने । सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत् कोसी ब्यारेजका बाँकी ढोका खोल्न आग्रह गरिएको उनले बताए । नदी कटानले बहाब गाउँतिर सोझिँदा बेलका नगरपालिका ४ वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा परेका छन् । नदीले गत वर्षदेखि पश्चिमपट्टी धार परिवर्तन गरी कटानलाई तिव्रता दिएपछि बेलका नगरपालिकाको २, ३, ८, ९ जोखिममा परेको हो ।

बेलका नगरपालिका– ८ लाहेर खोच डुम्रिबोटेस्थित नदीले कटान गरि गाउँ पसेको हो । नदी तटीय क्षेत्रका स्थानीयवासी वर्षौँदेखि यो समस्यासँग जुध्दै आएका छन् । कोसी सम्झौता अनुसार भारत सरकारले नदिको दुवैतर्फ स्थायी तटबन्ध नबनाएका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या झन् बढेको स्थानीयवासी बताउँँछन् । नदी गाउँतिर सोझिएकोले ढुक्कले निदाउने अवस्था नभएको उनीहरुको गुनासो छ ।

सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले बर्सेनि धेरै जनधनको क्षति गरेको छ । बाढी आउँदा घर जग्गा डुबाउने र घट्दा किनारामा जमिन कटान तीव्र रुपमा गर्दा सप्तकोसी किनाराका हजारौंँ बासिन्दा घरबारविहीन भएका छन् ।

सप्तकोसीले धार परिर्वतन गरी पश्चिमतर्फ कटान गरेपछि बेलका नगरपालिका– २, ३, ८ र ९ उच्च जोखिममा परेका हुन् । उदयपुरको बेलका नगरपालिका–८ को लाहुरे खोचमा सप्तकोसी नदि फुटेपछि सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलिया टप्पु, एबीसी, श्रीलंका टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोसी टप्पु आरक्ष ४ हजार घर परिवार उच्च जोखिममा परेका हुन् ।

सप्तकोसीले नयाँ मार्ग बनाए त्यहाँ बसोबास गर्ने ४ हजार घर परिवार विस्थापित हुनुका साथै ठुलो जनधनको क्षति हुने बराह क्षेत्र नगरपालिका–६ का निवर्तमान वडा सदस्य श्यामबहादुर लिम्बूले बताए । सप्तकोसी कटानले गर्दा बराह क्षेत्र नगरपालिका–६ चिलिया टप्पुमा रहेको बाल सेवा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय बेलका नगरपालिका– ३ तर्फ सरस्वती आधारभूत विद्यालयसहित २ वटा स्वास्थ्य संस्था विस्थापित भइ सकेको निवर्तमान वडा सदस्य लिम्बूले बताए । त्यहाँ रहेको एकता, सिर्जना, एबीसी, गिनेरी, रामनगर, बुधवारे, चिलिया टप्पु विस्थापित हुने तयारीमा रहेको उनले बताए ।

सुनसरीको भाण्टाबारी कोसी ब्यारेजदेखि उत्तर बराह क्षेत्र सम्मका बाँध मर्मत सम्भार गर्ने र कटान नियन्त्रण गर्ने मुख्य दायित्व भने भारत सरकारको रहेको छ । कोसी व्यारेज निर्माण गरेको बेलादेखिको सो सम्झौता अनुसार भारत सरकारले बर्सेनि कटान रोक्ने प्रयास गरेपनि पूर्णरुपमा सफल हुन नसक्दा नेपाली भूभाग बर्सेनि कटान र डुबानमा पर्दै आएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board