अख्तियारको नियन्त्रणमा रहेको उपसचिवको गाडीबाट थप १६ लाख ५० हजार बरामद

काठमाडौँ । सेवाग्राहीबाट घुसवापत लिएको ६ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटलबाट ६ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो । उनले प्रयोग गर्ने बा१ झ ९९४६ नम्बरको सरकारी गाडी खानतलासी गर्दा स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ ।

उक्त रकम पनि उपसचिवले घुसवापत लिएको हुनसक्ने र यससम्बन्धी अनुसन्धान अघि बढेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाए ।

एक व्यवसायीले प्याराग्लाइडिङ सेवा सञ्चालन अनुमतिका लागि मन्त्रालयमा निवेदन दिएका थिए । तर, निवेदनलाई अड्काएर नेपालले रकम मोलमोलाई गरेका थिए । त्यसपछि अख्तियारको टोलीले समेत निगरानी गरेको थियो । त्यही क्रममा मंगलबार उपसचिव नेपाल सेवाग्राहीसँग नगद लिँदै गर्दा पक्राउ परेका हुन् । त्यसकै छानबिन गर्ने क्रममा गाडी खानतलासी गर्दा थप रकम बरामद भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति