कांग्रेस सरकारले देशभक्तमाथि दमन गर्दै आएको ओलीकाे आराेप

काठमाडौँ, १७ श्रावण । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई दमनकारीकाे आराेप लगाएका छन् ।

ओलीका अनुसार कांग्रेसले विगतदेखि नै देशभक्त नागरिकमाथि दमन गर्दै आएको आरोप लगाएका छन् । नेपाली कांग्रेसको एकल सरकारले नै विगतमा देशभक्तहरूमाथि दमन गरेको उनको भनाइ थियो ।

राष्ट्रका लागि बलिदानी दिने थुप्रै मानिसलाई कांग्रेसले लामो समयसम्म सहिदको मान्यता नै नदिएको पनि उनले बताए । यसै क्रममा सहिद भीमदत्त पन्तको स्मरण गर्दै नेता ओलीले पन्तलाई पनि आफ्नै नेतृत्वको सरकारले २०७२ सालमा सहिद घोषणा गरेको बताए ।

तर कांग्रेस सरकारले लामो समयसम्म चार जनालाई मात्रै सहिदको रुपमा मान्यता दिएको ओलीको भनाइ थियो । ‘म आफैंले २०७२ सालमा भीमदत्त पन्तलाई सहिद घोषणा गरेको थिएँ । सहिद घोषणा गर्न थुप्रै बाँकी हुनुहुन्छ । शुक्रराज शास्त्री, दशरथ चन्द, गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमा चार जना मात्रै सहिदको रुपमा थिए,’ नेता ओलीले भने ।

तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसका अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै ओलीले मंगलबार यस्तो बताएका हुन् । यस क्रममा उनले नेपाली कांग्रेसको मति कहिल्यै नसुध्रिएको पनि बताए ।

सहिदका सन्दर्भमा कांग्रेस सरकारले इतिहास मेटाउन खोजेको भन्दै नेपाली कांग्रेस भीमदत्त पन्तलाई सहिद मान्न तयार नभएको उनको आरोप थियो । यसैबीच कांग्रेसको सरकारले देशभक्तहरूको हत्या गरेको पनि उनले आरोप लगाएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board